‘भेटिवर’को खेतीबाट आर्थिक सङ्कट निवारण गर्न सकिने सुझाव

- May 23, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बगरमा परिणत भएको र अन्य कारणले प्रयोगविहीन जग्गालाई भेटिवरको सहयोगमा सदुपयोग गर्दा कृषिमा देखिएको व्यापार घाटाको समस्या हुने सुझाव दिइएको छ । कृषि अनुसन्धाता श्याम गोयन्काले जडिबुटी, उच्च मूल्यका कृषि उपज, इन्धन, जैविक मल, फलफूल, तरकारी, गेडागुडी, चिनी, कागज र दुग्ध उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थमा आत्मनिर्भर हुनाका साथै आवश्यकताभन्दा बढी भएको उत्पादनलाई निर्यात गरेर वैदेशिक मुद्रासमेत आर्जन गर्न सकिने उपाय सुझाउनुभएको छ ।

जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने क्षमता भएको भेटिवर झट्ट हेर्दा कुशजस्तो देखिने घाँस हो जसको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो । यसलाई खस खस भनेर पनि चिनिन्छ । बाह्रै महिना उम्रिने यो गुच्छेदार घाँस साढे एक मिटर (पाँच फिट) सम्म अग्लो हुने र यसका पात उखुको जस्तो तर अलि साँघुरो हुन्छ । यसको डाँठ भने सिधा र कडा हुन्छ । यसका टुप्पामा ससाना खैरो प्याजी रङका फूल फुल्छन् । तारजालीजस्तै फैलिने यसको महत्त्वपूर्ण भाग जरा जमिनमुनि तीन मिटर (१० फिट) भन्दा बढी तलसम्म पुग्छ भने जमिनमाथि लगभग पाँच फिट उचाइसम्म जान्छ । यो ठूलो चमत्कारिक बिरुवा हो । यसको जरा सुगन्धित हुन्छ । अम्लीय र क्षारीय दुवै खाले गुण भएको माटामा घाँस सजिलै उमार्न सकिन्छ । निकै छिटो बढ्न सक्ने यसको अर्को महत्वपूर्ण पक्ष हो । मलेसियामा गरिएको अनुसन्धानले यो घाँस प्रतिदिन पाँच सेन्टिमिटरका दरले ६० दिनभन्दा बढी समय बढ्ने गरेको पाइएको छ । हुर्किएको ६ महिनामा नै यसको जरा फैलिएर बिग्रिएको पानीको बहावसँगै बग्न लागेको माटो निकै कडाइका साथ एक आपसमा जोडेर राख्ने गर्छ ।

बाढीपहिरो र नदीको भेलका कारण नेपालमा बर्सेनि ठूलो परिमाणमा खेतीयोग्य जग्गा बगरमा परिणत भएर हाल करिब रु पाँच लाख हेक्टर जग्गा प्रयोगविहीन अवस्थामा रहेको जनाउँदै सञ्चारकर्मीसमेत रहनुभएका गोयन्काले खेतीयोग्य जग्गा न्यून हुँदै गएको र उत्पादन पनि कम हुँदै गर्दा पोषणयुक्त खाद्यान्न र खाद्य असुरक्षाको ठूलो जोखिममा विस्तारै धकेलिँदै गएको र नेपालमा कृषिजन्य वस्तुको वार्षिक व्यापार घाटा झण्डै रु दुई खर्ब रहेका अवस्थामा भेटिवरको खेतीबाट व्यापार घाटा सम्बोधन गरी आर्थिक क्रान्ति सम्भव गराउन सकिने विचार राख्नुभएको छ ।

“खेर गएको जग्गा सदुपयोग गर्दा खाद्य, रोजगारी, ऊर्जा प्राप्त गर्न र गरिबी निवारण गर्नाका साथै वातावरण पनि जोगाउन सकिन्छ”, आफ्नो अध्ययनमा उहाँले उल्लेख गर्नुभएको छ ।

नेपालमा बाढीपहिराको जोखिम उच्च भएकाले यो घाँसको प्रयोगको ठूलो आवश्यकता रहेको जनाउँदै उहाँले बगरसहित प्रयोगविहीन जग्गामा भेटिवरको रोपण अपरिहार्य भएको बताउनुभएको छ । “भेटिवरको खेती गरेपछि उक्त जग्गा उर्वर भूमिमा परिणत हुन्छ । नेपालमा खेतीयोग्य ठूलो जग्गा बर्सेनि बगरमा परिणत भएकाले यस्ता जग्गालाई भेटिवरको सहयोगमा पुनः कृषि भूमिमै फर्काउनका लागि किसानलाई सहयोग गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ”, उहाँको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममा यसको खेती थालनी तथा प्रवद्र्धनका बुँदा राख्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

नदी नियन्त्रण गर्न तथा पहाडी भेगमा भूक्षय गएर सडक–बस्तीमा पहिराकोजोखिम निम्तने खतरालाई भेटिवरकै सहयोगमा व्यवस्थापन गर्न सकिने जनाउँदै उहाँले बायो इन्जिनियरिङ प्रविधि तुलनात्मक रुपमा सस्तो रहेको पनि औँल्याउनुभएको छ ।रासस

 

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV