आधुनिक सूचना प्रविधि मार्फत हुण्डी कारोबारमा उच्च घरानीया व्यापारीदेखि दलका नेतासम्म

- May 14, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विश्व बजारमै गैरकानुनी मानिदै आएको हुण्डी व्यवसाय नेपालमा पनि अत्याधिकमात्रामा बृद्धि हुदै गएको छ । अबैधरुपमा व्यक्ती–व्यक्ती मार्फत देश विदेशमा रकम लैजाने सो कार्यका कारण देशको अर्थतन्त्रमै ठूला धक्का लाग्दा समेत सरकारले हुण्डी कारोबार नियन्त्रण गर्ने ठोस नीति कार्यान्वयन गर्न सकेको छैन ।

विदेशबाट पैसा पठाउन र लिन सजिलो भएकाले हुण्डीप्रति विदेशमा बस्ने नेपालीबाट अत्याधिकमात्रामा प्रयोग गर्दै आएका छन् । भने सोही हुण्डी मार्फत पछिल्लो समयमा उच्च घरानीया कम्पनीका सञ्चालक समेत हुण्डी मार्फत नेपालबाट विदेशमा रकम लैजादै आएको समेत भेटिएको छ । अबैध रुपमा फैलिएको सो हुण्डीबाट कारोबार गर्नेहरु एकातर्फ ठगिनेक्रममा पनि बृद्धि भएको छ ।

भने अर्कोतर्फ राजश्वमा समेत ठूलो क्षति पु¥याएको सरकारी अधिकारीहरुकै भनाई रहेको छ ।नेपालबाट हुण्डी कारोबारीहरुको सकृयता यतिबेला सीमा क्षेत्रहरुमा बढेको छ । सीमा क्षेत्रहरुमा हुण्डी कारोबारीहरु सक्रिय बन्न थालेसँगै नेपाल प्रहरीले समेत हुण्डी कारोबारीमाथि निगरानी बढाएपनि मुख्य व्यक्तीसम्म प्रहरी प्रशासन समेत पुग्न सकेको छैन ।

प्रहरीले पटक पटक काठमाडौंको विभिन्न स्थानबाट हुण्डीमा आबद्ध व्यक्तीलाई पक्राउ गरेपनि कारबाही फितलो हुदाँ सो अबैधधन्दा नियन्त्रण हुन सकेको छैन । हुण्डीको कारोबार गर्नेमध्ये प्रहरील झापाका बिकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ यस अघि नै गरेको थियो । तर उनीहरुमाथी कस्तो कारबाही भयो भन्ने बारे भने सार्वजनिक गरिएको छैन ।

एक ठाउँको पैसा अर्काे ठाउँमा पु¥याउनु मात्रै नभएर पैसा वापत राजस्व समेत नतिरी सामाग्री समेत भित्राउने कार्यमा हुण्डी कारोबारी लागि परेका छन् । हुण्डी कारोबार मार्फत बिदेशबाट स्वदेशमा रकम प्राप्त भए तापनि सरकारी तथ्यांकमा भने सो देखिदैन । सुन तस्करी, लागु औषध कारोबार, न्यून विजकीकरण गरि सामान आयात, मानव बेचबिखन, अबैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीकै प्रयोग हुदै आएको अनुमान समेत प्रहरीले लगाएको छ ।

औपचारिक रेमिटान्स तथा बैंकिङ च्यानल मार्फत रकमको कारोबार नगरि अधिकांशले हुण्डीमार्फत कारोबार समेत गर्दै आएका छन् । काठमाडौँको न्युरोड र कुलेश्वर एरियाबाट गैरकानुनी कारोबार गर्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो । भारत घर भइ हाल कुलेश्वर बस्ने र फलफुलको व्यापार गर्ने बर्ष ४५ को विजय गुप्ता, रिभर सिटि संस्थाका कर्मचारी दिपक श्रेष्ठ, काठमाडौँ बाफल बस्ने संजित पाण्डे, भारत घर भइ हाल ताहचल बस्ने अंकित अग्रवाल र धनकुटा घर भइ हाल पुतलीसडक बस्ने पुजन छाला जिमीलाई पनि हुण्डीको कारोबार गर्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो ।

रेमिट्यान्सका सरोकारवालाहरुले हुण्डीको प्रचारप्रसार तथा अबैधानिक तवरबाट नेपालमा पैसा पठाउन त्यहाँ खोलिएका संघ/संस्थाका अगुवा तथा युएईमा व्यवसाय संचालन गरेर बसेकाहरुको मुख्यभूमिका रहेको बताइएको छ । नेपालमा आउने हुण्डीको रकम प्रायः विदेशी मुलुकमा काम गर्न गएका कामदारको पारीश्रमिक नै बढी हुने गरेको छ । त्यसैगरी अवैद्य हातहतियारको भुक्तानी, लागुपदार्थको भुक्तानी, नेपालबाट पूँजी पलायन गरी विदेश पठाउनुपर्ने रकमको भुक्तानी र सम्पत्ति शुद्धीकरणका लागि विदेशी लगानीका रुपमा नेपालका व्यापार व्यवसायमा हुने लगानीमा समेत प्रयोग हुदै आएको छ ।

न्यून बिजकीकरण गरी भन्सारमा कम मूल्य घोषणा गरेर ल्याइने सामानको यथार्थ मूल्य भुक्तानी गर्न र नेपालका व्यवसायी घराना वा भ्रष्टाचारीहरूले अवैध रुपमा गरेको आर्जनलाई विदेश पठाउन समेत हुण्डीको प्रयोग हुदै आएको छ । हुण्डी कारोबार विदेशी विनिमयको अपचलनमात्र हैन देशको आर्थिक अपराधलाई बढावा दिने, छायाँ अर्थतन्त्रको विकास गर्ने, समग्र राजस्व अपचलनको माध्यम हुने र अन्य चोरी, तस्करी जस्ता अपराधिक क्रियाकलापको वृद्धि गर्ने आधारसमेत भएर रहेको पाइन्छ ।

तर, यति ठूलो अपराधलाई नियन्त्रण गर्ने सम्बन्धमा हाल नेपालमा स्पष्ट कानूनी व्यवस्था समेत नभएको मौका छोप्दै हुण्डीको कारोबार हुदै आएको छ । पछिल्लो समयमा विभिन्न प्रक्रियाबाट नेपालबाट विदेशमा रकम पठाउने र विदेशबाट नेपालमा रकम भित्राउदै आएको छ । यस कार्यमा एउटै समूह वा सम्पर्क कायम भएका समूह नेपाल र विदेशमा बसेका छन् र उनीहरुबाटै यस अबैध कार्यलाई आधुनिक सूचना प्रविधिको समेत प्रयोग गरिन थालेको छ ।

हुण्डी कार्यमा हाल प्रायः मोबाइलबाट प्रयोग गरिने भाइबर, ह्वाट्सएप, वीच्याट जस्ता प्रविधिबाट व्यापक मात्रामा प्रयोग गरिदै आएको छ । यी प्रविधि प्रयोग गरी एक देशबाट अर्को देशमा भएको व्यक्तिलाई सूचना आदान–प्रदान गर्ने र त्यही सूचनाबमोजिम अर्को व्यक्तिले आफ्नो खाताबाट रकम निकालेर ग्राहकलाई भुक्तानी दिने वा ग्राहकको बैंक खातामा जम्मा गर्ने कार्य हुदै आएको छ । सो प्रविधि प्रयोगमा भने अत्याधिकमात्रामा ई सेवामार्फत बढी हुदै आएको छ ।

कतिपय अवस्थामा ‘मनी ट्रान्सफर’ गर्न अनुमति पाएका बैंक तथा मनी ट्रान्सफर कम्पनीहरूको सहयोगमा हुण्डीको कारोबार हुने गरेको छ । यस्ता कम्पनीहरूले आफ्ना एजेन्टलाई मनी ट्रान्सफर कार्यका लागि विभिन्न ‘पिनकोड’ दिने गरेका छन् । यस्ता पिनकोड राष्ट्रिय कारोबार र अन्तर्राष्ट्रिय कारोबारका लागि अलग अलग हुने गरेको छ ।

यस्ता कम्पनीका एजेन्ट वा प्रतिनिधिहरूले पाएका पिनकोड दुरुपयोग गरेर हुण्डीको कारोबार खुला रुपमा हुदै आएपनि सो कार्यलाई नियन्त्रण गर्ने सरकारी निकाय मौन बसेको छ । हुण्डी कारोबार विदेशी विनिमयको अपचलनमात्र हैन देशको आर्थिक अपराधलाई बढावा दिने, छायाँ अर्थतन्त्रको विकास गर्ने, समग्र राजस्व अपचलनको माध्यम हुने र अन्य चोरी, तस्करी जस्ता अपराधिक क्रियाकलापको वृद्धि गर्ने कार्यमा समेत प्रयोग भै रहदाँ नियन्त्रण नहुनुमा सो अबैध कार्यमा सरकारी कर्मचारीकै संलग्नता रहेको आरोप समेत लाग्दै आएको छ ।

हुण्डीको स्पष्ट परिभाषासहित विदेशी विनिमय (नियमित गर्ने) ऐन– २०१९ लाई प्रतिस्थापन गरी स्पष्ट र प्रभावकारी दण्ड सजाय र नियन्त्रणात्मक उपाय सहितको कानूनी व्यवस्था सरकारले नगर्दा सो अबैधधन्दाको कारोबार फैलिदै गएको हो । विदेशमा वसाइँ सर्ने, व्यापार÷व्यवसाय गर्ने र वैदेशिक लगानीको नाममा निजी उद्योग/व्यवसायमा पूँजी भित्राउने प्रति विशेष निगरानी गरी पूँजी पलायन र सम्पत्ति शुद्धीकरणमासमेत विशेष निगरानी बढाउनुपर्नेमा सरकारले सो कार्य गर्न सकेको छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV