काठमाडौं । राजस्व चुहावट गरेको आरोपमा दुई जना विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले अन्तरा इन्टरनेशनलका प्रोप्राइटर सहित दुई जना विरुद्ध करोडौं राजस्व छलि गरेको भन्दै मुद्दा दायर गरेको जनाएको छ । डोटीको दिपायल सिलगढी नगरपालिमा वडा नं. ४ स्थार्यी ठेगाना भएका अन्तरा इन्टरनेशनलका लेखा परिक्षक गणेशबहादुर केसी र सोही कम्पनीका लेखापरिक्षक धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ६ का श्यामसुन्दर यादव विरुद्ध विभागले मुद्दा दायर गरेको जनाएको छ ।
उनीहरु दुबै जनाले नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर (भ्याट) विजक खरिद गरि वित्तीय विवरण तयार गरि राजस्व चुहावट गरेको विभागको ठहर रहेको छ । विभागका अनुसार केसी र यादवले भ्याट तर्फ २ करोड ५० लाख ४५ हजार ३११ रुपैयाँ र आयकर तर्फ ६ करोड ३ लाख ३२ हजार २४३ रुपैयाँ सहित ८ करोड ५३ लाख ७७ हजार ५५४ रुपैयाँ राजस्व चुहावट गरेको ठहर गरेको छ ।
यस रकमको विगोसहित १७ करोड ७ लाख ५५ हजार १०८ रुपैयाँ माग दाबीगरि उच्च अदालत पाटनमा अभियोग पत्र दायर गरिएको छ । विभागले कानुन विपरित विदेशी विनिमय कारोबार गरेको आरोपमा ५ जना विरुद्ध मुद्दा दायर गरेको छ । भारतिय आधारकार्ड भएका समिर खान, नवलपरासीका योगेन्द्र यादव, कृष्ण प्रसाद काफ्ले, इश्वरीप्रसाद रेग्मी र रमेश कलवार विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
उनीहरु पाँचै जना विरुद्ध ३२ लाख ९२ हजार ३५० रुपैयाँ विगो दाबी कायम गरि नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । साथै उनीहरुबाट १८ लाख ५० हजार रुपैयाँ जफत गर्न समेत विभागले माग गरेको छ । कम्पनीसँग बिगो रकमसहित जेल सजाय समेत माग गरेर मुद्दा हालिएको छ । अब अदालतले कम्पनीविरुद्ध राजस्व अनुसन्धान ऐन २०५२ अनुसार मुद्दा अघि बढाउने बताइएको छ ।
प्रतिक्रिया