मंगलबारदेखि ७२ घण्टा सवै भन्सार नाका बन्द

- May 9, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देशमा एकै पटक स्थानीय निकायको निर्वाचन बैसाख ३० गते हुने भएकाले सवै सीमामा रहेका भन्सार कार्यालयहरु मंगलबारदेखि बन्द गरिने भएको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भन्सार नाका पनि बन्द हुने भएको हो । निर्वाचनका लागि विराटनगर भन्सार कार्यालय बन्द हुने भएको छ ।

कार्यालयका अनुसार वैशाख २७ गते राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म भन्सार बन्द हुने भएको हो । जेठ २ गतेबाट नियमित रुपमा भन्सार खुल्ने कार्यालय प्रमुख ताराप्रसाद सापकोटाले बताएका छन् । भन्सार नाकासँगै चुनाव अवधिभर सरकारले सीमा नाकासमेत बन्द गर्ने भएको हो ।

मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय सरकारले गरेपनि सो सूचना जारी गरिएको हो । स्थानीय तह निर्वाचन सुरक्षाका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको भन्सार विभागले जनाएको छ । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ ।

मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई मंगलबार मध्यरातदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अनुमति बेगर सीमाबाट आउ–जाउ गर्न नदिन निर्देशन दिइएको जानकारी दिए ।

नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरूका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने भएको छ । मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुडाउन पाइने छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV