सिन्धु विकास बैंकको लुट : रोजगारको नाममा मंहगो व्याजमा ऋण प्रवाह

- April 30, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । तातोपानी भन्सार कार्यालयबाट अबैधधन्दा चलाउदै तस्करी गर्दै आएका व्यापारीहरुको लगानीमा स्थापना भएको सिन्धु विकास बैंकले विद्यमान आर्थिक ऐन विपरित चर्को व्याजमा ऋण प्रवाह गरेको आरोप लागेको छ । सो बैंकले पछिल्लो समयमा सस्तो व्याजदरमा रोजगारी उपलव्ध गराउनेभन्दै लिएको पैसालाई डवल व्याजदर निर्धारण गरेर लगानी गर्दै आएको थप सूचना प्राप्त भएको छ ।

सो बैंक कहिले नक्कली सुन धितोमा राखेर लाखौ रुपैयाँ कर्जा दिएको त कहिले बचतकर्ताको रकम नै बैंकका कर्मचारीकै संलग्नतामा हिनामिना गरेको घटनाहरु सेलाउन नपाउदै पछिल्लो समयमा युवा स्वरोजगारको नाममा डबल व्याजदरमा ऋण दिएर लुट नै मञ्चाएको आरोप लागेको छ ।

बैंकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसंग सम्झौता नै गरेर १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगार युवायुवतीलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा व्यापार–व्यवसाय वृद्धि गर्न प्रतिव्यक्ति २ लाख तथा समूहगत प्रतिसमूह अधिकत ३० लाख रुपैयाँसम्म सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने सहमति गरेको छ ।

तर युवा स्वरोजगार कार्यक्रम अन्तर्गत कोषले बैंकलाई वार्षिक ४ प्रतिशतका दरले कर्जा प्रदान गर्ने सहमति भएपनि बैंकले भने बेरोजगार युवायुवतीलाई वार्षिक ८ प्रतिशत अर्थात डवल व्याज असुली ३ वर्ष ६ महिना अवधिका लागि कर्जा उपलब्ध गराउने सो बैंकले जनाएको छ । सो सम्बन्धमा बैंकको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा सम्र्पक गर्दा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामकुमार गिरी केन्द्रीय कार्यालयमा नबस्ने र उनी काभ्रेको बनेपामा रहेको कर्पोरेट कार्यालयमा बस्ने भएकाले उतै फोन गर्न भन्दै फोन लाईन काटिदिएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा सिइओ गिरी कहिल्य पनि नजाने भन्ने खबर बैकका कर्मचारीले दिएपछि बनेपामा रहेको कर्पोरेट कार्यालयमा फोन गर्दा उनी अधिकाशं समय ‘मिटिङ’ मा भएको तयारी जवाफ सो बैंकका कर्मचारीलाई रटाएको समेत पाईएको छ । तीव्रखबरबाट पटकपटक गिरी बस्दै आएको कर्पोरेट कार्यालय बनेपामा फोन गर्दा उनी मिटिङमा मात्र भएको जानकारी दिदै आएको छ ।

यसरी बेरोजगार युवा युवतीलाई रोजगारी दिलाउनेभन्दै सस्तो व्याजदरमा पैसा लिई मंहगोमा ऋण दिदै आएपछि पुनः सो बैंक विवादमा मुछिन पुगेको छ । कर्जा लगानी सम्झौतामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी तथा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका थिए ।

बेरोजगारी युवायुवतीलाई देखाउदै कोषद्वारा लिएको रकमलाई मंहगो व्याजदरमा ऋण प्रवाह गरी बेरोजगार युवायुवतीमाथी लुटकै धन्दा चलाउदै आएको आरोप समेत लागेको छ । बैंकले आफ्नो कार्यक्षेत्रभित्र रहेका सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लाका २४ वटा शाखा कार्यालयमार्फत उक्त कर्जा लक्षित वर्गमा प्रवाह गर्ने भन्दै आएको छ ।

सो सम्बन्धमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई तीव्रखबरले पटकपटक फोन सम्र्पक गर्दा समेत उनले फोन रिसिभ गरेनन् । सो सम्बन्धमा थप खोजी कार्य तीव्रखबरको क्राईम व्यूरोले जारी राखेको छ ।

सिन्धु विकास बैंकद्वारा युवा स्वरोजगारको नाममा लुट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV