विद्रोहीको आक्रमणबाट नेपाली सैनिकको निधन

- April 6, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । शान्ति स्थापनार्थ कंगोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएर गएको नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोही मिलिसियाले आक्रमण गर्दा एक नेपाली सैनिकको निधन भएको छ ।

आक्रमणबाट एक जना नेपाली सेनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शान्ति सेनामाथि गरिएको आक्रमणको निन्दा गरेका छन् ।

नेपाली सेनाको मुख्यालयका अनुसार कर्डन एण्ड सर्चको कारबाही सञ्चालन गरी विद्रोहीको स्थान कब्जा गरिसकेको अवस्थामा अज्ञात स्थलबाट आक्रमण भएको थियो । आक्रमणबाट घाइते सैनिकलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको थियो ।

संयुक्त राष्ट्रसंघबाट जारी विज्ञप्तिमा मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरिएको छ । साथै शान्ति सैनिकहरुमाथि आक्रमण गर्नु युद्ध अपराध हुने भन्दै राष्ट्र संघले यस घटनाको छानबिन गरी दोषिलाई कानुनी कठघरामा ल्याउन कंगोका अधिकारीहरुलाई आग्रह गरेको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाका अनुसार अपरेशन ‘बाली’ का क्रममा मंगलबार विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट घाइते भएका नेपाली सैनिकको उपचारको क्रममा मृत्यु भएको हो।  हेलिकप्टरमार्फत् थप उपचारको लागि बुनियाँस्थित लेबल-२ अस्पतालमा लगिएका नेपाली शान्ति सैनिक सुर्खेत गुर्माकोट-१४ निवासी सिपाही अनिल गुरुङको मृत्यु भएको जंगी अड्डाले जनाएको छ।

कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा गुरुङप्रति प्रधान सेनापति प्रभुराम शर्माले उनको बलिदानीपूर्ण योगदानप्रति उच्च सम्मान प्रकट गरेको नेपाली सेनाले जनाएको छ।  यस घटनाले सिंगो नेपाली सेनालाई नै स्तब्ध बनाएको सेनाले उल्लेख गरेको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV