कर्णालीको विकासमा म दिलोज्यान दिनेछु – सांसद रावत

- March 22, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– दुर्ग बहादुर रावत (सांसद)
काठमाडौं । कालिकोट जिल्लाबाट संघिय सांसदमा निर्वाचित दुर्ग बहादुर रावत विगत लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रुपमा भूमिका खेल्दै आउनु भएका व्यक्ति हुन् । नेकपा (माओवादी केन्द्र)मा रहेर राजनीति गर्दै आएका रावत कर्णाली जिल्लामै विकास र समाज सेवाको नाममा परिचित व्यक्ति भएकै कारण संघिय सभाको निर्वाचनमा भारी विजयी भएका हुन् । उनको कार्यकालमा के कस्ता विकास निर्माणका कामहरु भएका छन् त भन्ने विषयमा केन्द्रीत रहेर उनीसंग गरिएको कुराकानीको सम्पादित अंश ।

तपाई र तपाईको पार्टिले कर्णालीलाई विशेष स्वायत्त राज्यको कुरा उठाउनु भएको थियो, त्यो अहिले पूरा गर्न सक्नु हुन्छ ?
यसमा हामीले खोजेको र उठाएको नारा हो । तर अहिले नेपालको परिवर्तनको पृष्ठभूमि हेर्ने हो भने जितेको र हारेको कसैको होइन्, यो संविधान सहमतीको दस्तावेज हो । अरु देशको राजनीतिकमा निषेध गरेर परिवर्तन भएका छन् । नेपालका राजा समेतले सहमती गरेर छोडे हामी पनि केही कुरा छोड्यौं । नेपाल संघिय लोकतान्त्रिक संविधान बनेको छ । सोही अनुरुप अहिले समाजवाद उन्मूख जाने समेत संविधानमा व्याख्या समेत गरिएको छ । हाम्रो पार्टीको बैज्ञानिक समाजवाद हो । हाम्रो आफ्नै मौलिकता छ भने रुसी र चीनको मोडल समेत पनि फरक छ । हाम्रो आप्mनै मोडल छ । त्यहि अनुरुप हामी अगाडि बढि रहेका छौं ।

कर्णालीलाई विशेष स्वायतता उठाउनु भएको थियो, तर किन भएन ?
हामीले क्षेतीपूर्ती सहितको विशेष कर्णाली प्रदेशको कुरा उठाएको हो । अझ सबै उत्पीडित जाती, क्षेत्र र वर्गको अधिकारको लागि हामीले सबै क्षेत्रमा यो कुरा उठाएको हो । हिजो साहससंग जनयुद्ध गरियो । अहिले जनता चाहिन्छ । जनताको मास चाहियो । आम रुपमा परिर्वतन गर्न सम्पूर्ण जनताहरु हाम्रो पक्षमा आए मात्र हामीले उठाएका मागहरु पुरा हुन सक्छन् ।

संघियता विफल पार्ने खेल हुँदै छ नी ?
राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टीले यत्रो सानो देशमा आर्थिक भार थेग्न नसक्ने भएकोले उहाँले विरोध गर्नु भएको हो । अहिले राप्रपा पनि विरोधमा छ । तर मूलधारमा आएका पार्टी नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र मधेसवादी लगायतका दलहरु संघियताको पक्षमा छन् । संघियता हाम्रो भूगोल र इतिहाससंग जोडिएको छैन् । विस्तारै यसलाई सुधार्दै लैजाने र जनताको अधिकारलाई संवोधन गर्नेतिर हाम्रो पार्टी लागि रहेको छ ।

नेपालको संविधान संघिय छ, तर पार्टी केन्द्रीकृत सोचमै गैरहेका छन्, किन ?
अरु पार्टीको कुरा निर्वाचन आयोगले तोकेको समावेशी ४० प्रतिशत अनिवार्य गरेको छ, त्यो अनूरुप अरु पार्टीहरु काम गरिरहेका छन्, तर हाम्रो पार्टीले ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी गरेको छ । त्यसैले हाम्रो पार्टी संघिय मोडलमा नै हिडेको छ, यसलाई केन्द्रीकृतबाट तल्लो तहसम्म समावेशी गर्ने काम भैरहेको छ ।

हाम्रो धर्म र सभ्यताको बारेमा तपाईको पार्टीको धारणा के छ ?
हामीले विभिन्न जात, जाती र धर्म संस्कृतिको बारेमा जगेर्ना गर्न त्यस क्षेत्र र त्यसमा बस्ने जातीहरुको धर्म, संस्कृतिको जगेर्ना गर्न पनि १२÷१३ वटा राज्यको माग गरेका थियौं । नेपालको २२ से २४ से राज्यको मोडल अनुरुप नै विभिन्न किसिमका जातिय क्षेत्रिय राज्य उठाउनाको कारण त्यहाँको लोक संस्कृति सभ्यता र भाषाको उत्थान गर्नु हो भन्ने हाम्रो उद्देश्य हो ।

नेपालको पहिचान त मेटिए जस्तो छ नी ?
धर्म निरपेक्षता हाम्रो माग हो, नेपाल हिन्दु राष्ट्र होइन, नेपाल बहुजातीय, बहु धार्मिक बहु भाषिक र बहु सांस्कृतिक मुलुक हो । एउटा धर्मलाई मात्र पहिचान मान्न हुँदैन हाम्रो पहिचान भनेको समग्र सबैको जातिय, भाषिक, सांस्कृति र धार्मिक पहिचान हो । पृथ्वी नारायण शाहले चार वर्ण छत्तिस जातीको फुलवारी पनि भनेका छन् । हामीले धार्मिक स्वतन्त्रताको कुरा उठाएका हौं, कुनै धर्मलाई माथी र कुनैलाइृ तल गर्ने हाम्रो काम होइन् । धर्ममा राजनीति गर्नु हुँदैन धर्मलाई स्वतन्त्र रुपमा छोड्नु पर्छ ।

तपाईले कालीकोट जिल्लामा कस्तो रोडम्याप ल्याउन खोज्नु भएको छ ?
तिन तहका सरकारसंग छलफल गरेर पहिला शिक्षा, स्वास्थ्य कर्णाली विकट भएकोले यातायातलाई महत्व लिएका छौं । पर्यटकको गुरु योजना बनाएका छौं । कृषिमा आधुनिकीकरणको विकासलाई अगाडी राखेका छौं । जलस्रोतको विकास र विस्तार कर्णालीका सबै ठाउँमा विजुलीको विस्तार र नेपालको सबैभन्दा जडिबुटी पाउने भएको हुनाले त्यसलाई संरक्षण गर्न एउटा गूरु योजना बनेको छ सो अनूरुप हामीले तिन तहकै सरकारसंग मिलेर काम गरिरहेका छौं । अहिले कर्णालीको सबै ठाउँमा सडक सञ्जाललाई बढी महत्व गरेका छौं । मैले पहिलाको कालीकोटको अवस्था भन्दा म सांसद भैसकेपछि धेरै विकासका बाटाहरु अगाडी बढाएको छु । हरेक ठाउँमा अहिले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, यातायातको क्षेत्रमा बढी लगानी गर्ने काम भैरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV