‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

- January 14, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भादगाउँ : भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रमअनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् । विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो । उहाँले अहिलेको समयअनुसार पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँले ल्यापटप कार्यक्रमका लागि वडाध्यक्ष, समाजसेवी तथा व्यवसायीले सहयोग गरेको उल्लेख गर्दै केही नपुग रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यहोरेको जानकारी दिनुभयो । उक्त सहयोगबाट शिक्षक खुशी भएको उहाँको भनाइ छ । वडाध्यक्ष एवं सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीका समयमा पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकलाई ल्यापटप दिइएको जानकारी दिनुभयो ।

भक्तपुरमा ९३ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

भक्तपुरमा लक्षित जनसङ्ख्याको ९३ दशमलव चार प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । भक्तपुरमा कूल दुई लाख ५० हजार २६१ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएकामा बिहीबारसम्म दुई लाख ३४ हजार ३६ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भक्तपुरमा सबैभन्दा बढी सूर्यविनायक नगरपालिकामा कोरोनाविरुद्ध खोप लगाएका छन । यहाँ लक्ष्यभन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो । सूर्यविनायकमा ६२ हजार ३६ जनालाई खोप लगाउने लक्ष्य लिए पनि हालसम्म ८१ हजार ७०५ जनाले खोप लगाएको उहाँले बताउनुभयो ।

यस्तै चाँगुनारायण नगरपालिकामा ८४ दशमलव ३३ प्रतिशतले खोप लगाएका छन् । यहाँ ४९ हजार ६९४ जनालाई खोप दिने लक्ष्य लिएकामा ४१ हजार ९०९ जनाले खोप लगाएका छन् । मध्यपुरथिमि नगरपालिकामा ५८ हजार ५४१ जनाले खोप लगाएका छन्, जुन निर्धारित लक्ष्यको ७८ दशमलव चार प्रतिशत हो । यहाँ ६४ हजार ६७३ जनालाई खोप दिने लक्ष्य छ । भक्तपुरमा खोप लगाउनेको सङ्ख्या ९३ प्रतिशत पुगे पनि अझै धेरै जनसङ्ख्या खोपको पहुँच बाहिर रहेको मिजारले जानकारी दिनुभयो । भक्तपुरमा राष्ट्रिय जनगणना २०६८ को जनसङ्ख्यालाई आधार बनाई खोप लगाउनुपर्ने सङ्ख्या निर्धारण गरिएको र २०६८ यता बसाइँसराइ तथा अस्थायी बासिन्दाको चाप बढेकाले खोप लगाउनुपर्नेको सङ्ख्या वृद्धि भएको र अभैm धेरै जनसङ्ख्या खोप लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । –रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV