भलिबलको कुशल कमान्डर गुमायौँ : डा रावल

- January 13, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गर्नुभएको छ । स्व विष्टको १३औँ दिनको पुण्यतिथिमा टीकापुर युवा क्लबद्वारा आयोजित श्रद्धाञ्जलिसभामा डा रावलले राष्ट्रले भलिबल खेलको एक कुशल कमान्डर गुमाएको बताउनुभयो । उहाँले राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै त्यसमा स्व विष्टको योगदानलाई सबैले स्मरण गरिरहने बताउनुभयो । सुदुरपश्चिम खेलकुदका लागि उर्वरभूमि भएको सुनाउँदै उहाँले जुनसुकै खेलमा पनि सुदूरपश्चिमको प्रतिनिधित्व रहेको उल्लेख गर्नुभयो ।

टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले स्व विष्ट टीकापुरमा भलिबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्न तत्पर रहेको अवस्थामा उहाँको निधनपछि सो कार्य आफुहरुको काँधमा आएको बताउनुभयो । टीकापुर नगरपालिका–१ मा स्थायी बसोबास गर्दै आउनुभएका विष्टको कोरोना सङ्क्रमणका कारण यही पुस १७ गते उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लबको महिला टोलीको प्रशिक्षकसमेत रहनुभएका विष्ट पछिल्लो समय टीकापुर भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिँदै आउनुभएको थियो । –रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV