नेपालको जीडीपी वृद्धिदर ३ प्रतिशतमै समित : सरकारको लक्ष्य नपुग्ने निश्चित

- January 12, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विश्व बैंकले सन् २०२२ मा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) अर्थात आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमै सीमित रहने प्रक्षेपण गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोम तीव्र रुपमा फैलन थालेकाले आर्थिक वृद्धिदर संकुचन हुने बैंकले जनाएको छ । नेपाल सरकारले भने ७ प्रतिशत वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य लिएर सो लक्ष पुग्ने दाबी गर्दै आएको छ ।

बैंकले चालू आर्थिक वर्षभित्र दक्षिण एसियाका मुलुकहरूमध्ये नेपालमा तेस्रो कम आर्थिक वृद्धिदर हुने देशका रुपमा राखेको छ । तालिबानी कब्जामा रहेको अफगानिस्तानबारे कुनै प्रक्षेपण गरेको छैन भने बैंकले श्रीलंकामा सबैभन्दा कम २ दशमलव १, पाकिस्तानमा ३ दशमलव ४ र नेपालमा ३ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमानित तथ्यांक सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षभित्र दक्षिण एसियाली मुलुकमध्ये माल्दिभ्सले सबैभन्दा बढी अर्थात ११ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हासिल गर्नसक्ने देखिएको छ ।

नेपालको दक्षिणी छिमेकी भारतले ८ दशमलव ३, बंगलादेशले ६ दशमलव ४ र भुटानले ५ दशमलव १ प्रतिशत जीडीपी वृद्धिदर हासिल गर्ने विश्व बैंकले जनाएको छ । चुलिँदो मूल्यवृद्धि, उच्च सार्वजनिक ऋण, आय असमानतामा रुमलिएको यी अर्थतन्त्रलाई ओमिक्रोन सृजित नयाँ खतराले थप समस्यामा पार्न सक्ने बैंकको अनुमान छ । अनुमान अनुसार सन् २०२२ मा विश्वको औसत आर्थिक वृद्धिदर ४ दशमलव १ र २०२३ मा ३ दशमलव २ प्रतिशतमात्र रहनेछ । सन् २०२१ मा विश्वले ५ दशमलव ५ प्रतिशत वृद्धिदर हासिल गरेको जनाएको छ ।

विकासशील अर्थतन्त्रले आपूर्ति सृंखलामा अवरोध र मुद्रास्फीतिको चाप खेप्नुपर्ने बैंकले अनुमान गरेको छ । समस्या समाधान निम्ति प्रभावकारी नीतिगत उपायहरू अवलम्बन गर्न बैंकले सुझाएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्समा कोरोनाका नयाँ भेरियन्टले मुद्रास्फिति, ऋण र आम्दानीमा ठूलो असर पार्ने देखिएको हो । विश्व बैंक ग्रुपका अध्यक्ष डेभिड माल्पासका अनुसार दक्षिण एशियाको २०२१, २२ र २३ मा क्रमश : आर्थिक वृद्धिदर क्रमशः ० दशमलव १, ० दशमलव ८ र ० दशमलव ८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

यो वर्ष सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्नेछ । यसको ११ प्रतिशतको वृद्धि प्राप्त हुने छ । दोस्रो स्थानमा भारत रहेको छ । भारतले ८.३ प्रतिशतको वृद्धिदर भेटाउने छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेका माल्दिम्भ र भुटानले राम्रो लय समात्दा नेपाल भने अलमलमै रहेको छ । यसको असर अर्थतन्त्रमा देखिएको छ । भुटानले ५.१ प्रतिशतको वृद्धिदर भेटाउने देखिएको छ ।
विश्व बैंकले यो सूचीमा अफगानिस्तानलाई राखेको छैन । तीव्र राजनीतिक अस्थिरताका बीच यो मुलुकको प्रक्षेपण हुन नसकेको बताइएको छ । नेपालले आगामी वर्ष भने ४.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ ।

कुन मुलुकको कति प्रतिशत वृद्धिदर ?

माल्दिभ्स :     ११ प्रतिशत
भारत :           ८ दशमलव ३ प्रतिशत
बंगलादेश :      ६ दशमलव ४ प्रतिशत
भुटान :            ५ दशमलव १ प्रतिशत
नेपाल :           ३ दशमलव ९ प्रतिशत
पाकिस्तान :     ३ दशमलव ४ प्रतिशत
श्रीलंका :          २ दशमलव १ प्रतिशत

सार्क मुलुकमा सन् २०२१ को मध्यपछि कोरोनाको दोस्रो लहर कम भएको थियो । त्यसपछि अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको प्रतिवेदनमा उल्लेख छ । यसमा औद्यागिक उत्पादनमा आधारित भारत र बंगलादेशले राम्रो संकेत देखाएका छन् ।

सार्क मुलुकमा व्यापार, आतिथ्य र पर्यटन सेवामा भने महामारी भन्दा अगाडिको स्तरमा पुग्न नसकेको देखिएको छ । माल्दिम्भसमा सन् २०२१ मा पर्यटक आगमन २२.३ प्रतिशतले बढ्दा नेपालमा गिरावट आएको थियो । श्रीलंका भने निरन्तर आर्थिक समस्यासँग जुधिरहेको बैंकले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV