प्रदेशहरुबीच लगानी भित्राउने प्रतिस्पर्धामा लाग्नु : वरिष्ठ उपाध्यक्ष ढकाल

- January 11, 2022 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

लमजुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । लमजुङ उद्योग वाणिज्य संघको ३५ औं साधारणसभा तथा ४६ औं स्थापना दिवसको अबसरमा उनले सो कुरा बताएका हुन । उनले प्रदेशहरुबीच लगानीमैत्री नीति नियम तर्जुमा गर्दै लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताए ।

हाल स्थानीय तह र प्रदेश सरकारमा लगानीमैत्री वातावरण बनाउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गए पनि नीति निर्माण गर्दा सरोकारवाला पक्षलाई समेट्न नसकेको उनको भनाइ छ । सरोकारवाला पक्षलाई राखेर निर्णय नगरिँदा नीति नियम व्यावहारिक बन्न नसकेको र त्यसले परिणाम दिन नसकेको ढकालले बताए ।

उपाध्यक्ष ढकालले कुनै पनि देशमा छोटो समयमा आर्थिक विकास भएको छ भने स्थानीय लगानी र वाह्य लगानीलाई सपोर्ट गरेकै कारण भएको छ, मलेसियाका प्रधानमन्त्री डा.महाथिर नेपाल आउँदा उनलाई मैले कसरी मलेसियाको तीव्र आर्थिक विकास सम्भव भयो भनेर सोधेको थिएँ र उनले स्वदेशी र विदेशी दुवै लगानीलाई आफ्नै लगानीको व्यवहार गरेका कारण सम्भव भएको बताए ।

निजी लगानीलाई राज्यले संरक्षण गर्दा राज्यको स्रोत बढ्ने, बेरोजगारी समस्याको हल हुने तथा साधन स्रोतको समुचित प्रयोग हुने भन्दै उनले नीति निर्माणमा सकारात्मक सोच जरुरी रहेको बताए । गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले यस प्रदेशले मुलुककै पर्यटनको नेतृत्व गर्नसक्ने बताए ।

पर्यटनसँगै कृषि, जलविद्युत् लगायतका क्षेत्रमा गण्डकी प्रदेश अब्बल रहेको उनको भनाइ छ । उचित नीतिको अभावका कारण व्यवसायीलाई उत्प्रेरित गर्न नसकेको स्मरण गर्दै ढकालले त्यसका निम्ति पर्यटनमन्त्रीको ध्यानाकर्षण गराए । मुलुकका हरेक क्षेत्रमा जाँदा पर्यटनमा केही गरौं भन्ने स्थानीय तहका प्रमुखले आग्रह गर्ने गरेको स्मरण गराए ।

आफूहरु जिल्ला नगर उद्योग वाणिज्य संघको कार्यक्रममा जाँदा लगानीका सम्भावनाहरुको खोजी गर्ने गरेको र महासंघका अन्य सदस्यहरुलाई सहकार्यमा लगानीका लागि आग्रह गरिरहेको कार्यक्रममा ढकालले जानकारी दिए । लमजुङमा गैरआवासीय नेपालीसँग सहकार्य गरेर आफूले २७ मेगावाटको जलविद्युत् आयोजनामा लगानी गरिरहेको र उत्पादनको अन्तिम तयारीमा रहेको जानकारी दिए । लमजुङमै बैंकिङ क्षेत्रमा पनि लगानीमा सहकार्य गरेको स्मरण गराउँदै अब भने पर्यटन क्षेत्रमा पनि सहकार्य गर्न चाहेको धारणा राखे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV