आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन आग्रह

- December 6, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले आज बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई दू्रतगतिमा पुनरुत्थानगर्न सबै राजनैतिक दलहरुको समानधारणा आवश्यक पर्ने बताउनुभयो । “अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ । यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न ।

सबै मिलेर यसलाई दू्रतगतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,”उहाँले भन्नुभयो, “यसका लागि सबै राजनैतिक दलहरुको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ,”उहाँले भन्नुभयो । अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभावबारे बोल्दै उहाँले यसलाई अहिलेसम्मका अध्ययनहरुले कम खतरापूर्ण रहेको बताउँदै आएकाले यससँगसँगै आर्थिक तथाव्यवसायिक गतिविधिहरु सञ्चालन गर्नुको विकल्प नभएको बताउनुभयो । लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उहाँले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरु आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताउनुभयो ।

उहाँले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तब्यहरु निर्माण भइरहेको र त्यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुसँग समेत सहकार्य हुने बताउनुभयो । “हामीले सात वटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तब्यहरु निर्माण गर्न गइरहेका छौँ । यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ । यस्ता परियोजनाहरुमा स्थानीय उद्योगी, व्यवसायीतथा सर्वसाधारणहरुसँग समेत साझेदारी र सहकार्य हुनेछ,”उहाँले भन्नुभयो ।

कोभिड महामारीले मुलुकमा चुनौती मात्र नथपेको बताउँदै यसले नयाँ नयाँ अवसरका ढोका पनि खोलेको उहाँले बताउनुभयो । “कोभिड–१९ को महामारीले चुनौतीहरु मात्र थपेको छैन, नयाँ अवसरहरुको ढोका पनि खोलेको छ । डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन यो सङ्कटले हामी सबैलाई बाध्य पारेको छ । इ–कमर्श, इ–कारोबार, सेवातथा वस्तुको उत्पादन एवम् बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्महरुको प्रयोग बढेको छ,”उहाँले भन्नुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV