कर्णाली प्रदेश सरकारले विपद् दुर्घटनाबाट निधन भएको परिवारलाई दुई लाख दिने

- October 22, 2021 मा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी निधन भएका परिवारलाई दुर्घटना बिमाबाट आउने २ लाख रुपैयाँ दिने भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को शुक्रबार बसेको बैठकले दुर्घटना बिमाबाट तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सिताकुमारी नेपालीले जनाएकी छिन् । प्रदेश सरकारले नागरिकको सामुहिक विपद् दुर्घटना बिमा गरेको थियो । सोही बीमा राहत स्वरुप तत्काल रकम उपलब्ध गराउन लागेको हो ।

कर्णाली प्रदेशमा पछिल्लो समय बाढी पहिरोबाट ७ जनाको निधन भैसकेको छ । बाढी पहिरोमा परेर ४ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएका छन् । विपद्मा परी घाइते भएका व्यक्तिहरुको उपचार व्यहोर्ने बैठकले निर्णय गरेको छ । विपद्का कारण अवरुद्ध भएका सडक, पुल, खानेपानी, सिंचाई र विद्युत पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सुचारु गरिने समेत निर्णय गरिएको छ ।

खेतीबालीमा भएको क्षतिको एकिन विवरण संकलन गरी कृषकहरुलाई क्षतिपुर्तीको व्यवस्था गर्ने, पुर्णरुपमा क्षति भएका घरहरुको विवरण संकलन गरी संघीय र स्थानीय सरकारसंग समन्वय गरी पुनःनिर्माण तथा पुनस्र्थापना गर्ने, विपदका कारण क्षतिग्रस्त विद्यालय भवन र स्वास्थ्य चौकीका भवनको लगत संकलन गरी पुनःनिर्माणको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV