धदिङको रुवी भ्यालीमा जलविद्युत आयोजनाद्वारा वन फडानी (उजुरी सहित)

- July 18, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

धादिङ । धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिका स्थित सुपर आँखुखोला जलविद्युत आयोजनाले अनधिकृत तबरले आयोजनाका लागि बाटो बनाउन वन फडानी गरेको छ । सोधभर्ना र क्षतिपूर्ति बिनै एक हजार रुख काटिएका पाइएको छ । सो कार्यमा स्थानीय सरकार, प्रदेश सांसद एवं जिल्लास्थित जिल्ला वन कार्यालयको मिलेमतो रहेको आरोप स्थानीय बासिले लगाएका छन् । २५ दशमलव ४ मेगावाटको सो आयोजनाले रुवी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ५ मा बाटो बनाउने नाममा ती रुख काटेको हो ।

वन ऐन तथा निमयावलीले विकास आयोजनाका क्रममा वन फडानी गर्नु पर्ने भएमा त्यसबापत प्रति रुख बराबर २५ वटा विरुवा रोप्नुपर्ने व्यवस्था गरेको छ । साथै रुख रोप्न आवश्यक जग्गाको प्रबन्ध गर्नुपर्ने र पाँच वर्षसम्म ती रुख हुर्काउन तथा सम्भार गर्नुपर्ने कानुनी प्रावधान छ । यदि यसो नगरेमा जग्गा खरिद, वृक्षारोपण र तिनलाई पाँच वर्षसम्म हुर्काउन लाग्ने रकम आयोजनाले उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

आयोजनामा वैदेशिक रोजगार व्यवासयी रघु पुरीलगायत संचालक छन् । लामो समयसम्म विश्वराज कँडेल यसको प्रबन्ध निर्देशक रहे पनि पछिल्लो दिनमा पुरी समूहले उनलाई विस्थापित गरेको छ । वन फँडानीमा संचालक पुरीले जिल्ला वन कार्यालय धादिङलाई समेत प्रभावमा पारेको आरोप लागेको छ । भने पर्यटकीय गन्तब्यमध्येको एक रुवी भ्यालीलाई उजाड बनाएको छ । महानिर्देशकले यो प्रकरणमा अबिलम्म हस्तक्षेप गरी कानुन कार्यान्वयन तथा दोषीलाई कारवाही गर्न गरेका छन् । करोडौंको यो चलखेलबारे वन विभाग, वन मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालयमा उजुरी परिसकेको छ ।

उजुरी

श्री प्रधानमन्त्रीको कार्यालय

सिंहदरबार, काठमाडौं ।

विषय : अवैध वन फडानी गरी भ्रष्टाचार गर्नेलाई कारवाही गर्नेबारे ।

महोदय,

धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकास्थित सुपर आँखुखोला जलविद्युत आयोजनाले अनधिकृत तबरले आयोजनाका लागि बाटो बनाउन वन फडानी गरेको छ । सोधभर्ना र क्षतिपूर्ति बिनै करिव एक हजार रुख काटिएका छन् । यसमा स्थानीय सरकार, प्रदेश सांसद एवं जिल्लास्थित जिल्ला वन कार्यालयको मिलेमतो रहेको छ । २५.४ मेगावाटको यो आयोजनाले रुवी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ५ मा बाटो बनाउने नाममा ती रुख काटिएको हो । त्यसबापत अन्यत्र एक काटिएको रुख बराबर २५ वटा विरुवा रोप्ने, पाँच वर्षसम्म त्यसको हेरदेख र सम्भार गर्ने वा सो कामवापत भरणपूरण रकम दिने कुनै काम आयोजनाले गरेको छैन । त्यसैले निज आयोजनाका संचालक एवं स्थानीय सरकारका प्रमुख तथा प्रदेश सांसदविरुद्ध तत्काल वन मुद्दा लगाएर कारवाही अघि बढाउन निवेदन गर्दछौँ ।

निवेदक

सरोकारवाला स्थानीयवासीहरू

रुवी भ्याली गाउँपालिका वडा नम्बर ४ र ५ धादिङ

२०७८/ ०३ /२३

 

 

श्रीमान् महानिर्देशकज्यू

वन तथा भू-संरक्षण विभाग, काठमाडौं ।

विषय : अनियमितता र भ्रष्टाचारबारे ।

महोदय,

प्रस्तुत विषयमा धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिकामा सुपर आँखुखोला जलविद्युत आयोजना निर्माणाधीन छ । यो आयोजना गोरक्ष हाइड्रोपावर प्रा. लि.ले बनाइरहेको छ । २५.४ मेगावाटको यो आयोजना निर्माणका क्रममा सडक बनाउन रुवी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ६ मा करिव एक हजार रुख काटिएका छन् । करोडौँ मूल्यपर्ने रुख काटिए पनि त्यसबापत कानुनबमोजिम विरुवा रोप्ने वा क्षतिपूर्ति भरणपूरण गर्ने काम भएको छैन । आयोजनाले प्रदेश सांसद जगत सिंखडा, गाउँपालिका अध्यक्ष चेरुङ तामाङलगायत स्थानीय सरकारका उपाध्यक्ष एवं वडाअध्यक्षहरूलाई समेत आर्थिक प्रलोभनमा पारेका छन् ।

यतिसम्मकी आयोजनाको काम अगाडि बढाउँदा वातावरणीय पक्षमा ध्यान दिनुपर्ने तालुकवाला निकाय जिल्ला वन कार्यालय धादिङको समेत यो प्रकरणमा मिलेमतो रहेको देखिएको छ । वन ऐन तथा निमयावलीले विकास आयोजनाका क्रममा वन फडानी गर्नु पर्ने भएमा त्यसबापत प्रति रुख बराबर २५ वटा रुख रोप्नुपर्ने व्यवस्था गरेको छ । साथै रुख रोपन आवश्यक जग्गाको प्रबन्ध गर्नुपर्ने र पाँच वर्षसम्म ती रुख हुर्काउन तथा सम्भार गर्नुपर्ने कानुनी प्रावधान छ । यदि यसो नगरेमा जग्गा खरिद, वृक्षारोपण र तिनलाई पाँच वर्षसम्म हुर्काउन लाग्ने रकम आयोजनाले उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको छ । आयोजनाले जिल्ला वन कार्यालय धादिङको संरक्षणमा गाउँपालिका र प्रदेश सांसदसँगको मिलेमतोमा राज्यलाई करोडौंको नोक्सानी पुर्‍याएको छ भने पर्यटकीय गन्तब्यमध्येको एक रुवी भ्यालीलाई उजाड बनाएको छ । अतएव महानिर्देशकज्यूले यो प्रकरणमा अबिलम्म हस्तक्षेप गरी कानुन कार्यान्वयन तथा दोषीलाई कारवाही गर्न गराउन निवेदन गर्दछौँ ।

निवेदक

पीडित स्थानीयवासीहरू

रुवी भ्याली गाउँपालिका वडा ४ र ५ धादिङ

२०७८/ ०३ /२३

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV