नेटवर्किङ व्यावसायका नाममा ठगी : स्रोत नखुलेको रकम मिडियामा लगानी

- July 17, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

प्रहरीका अवकाश अधिकृतको संलग्नता/

रोशन कार्की

काठमाडौं । विश्वमा फैलिएको कोरोना भाइसरको सक्रमणका कारण सवै जनता घरभित्र नै बस्न बाध्य भएको मौका छौप्दै देश विदेशमा अबैधरुपमा नेटवर्किङको माध्यमबाट ठगीधन्दा चलाउदै आउनेको संख्यामा अत्याधिकमात्रले बृद्धि हुन पुगेको छ । घरघरमै सामान पु¥याईदिनेभन्दै विना दर्ता र विद्यमान ऐन विपरित नेटवर्किङ व्यवसाय चलाउनेमा अधिकाशं पुर्व प्रहरी अधिकृत र सरकारी कर्मचारीहरुको संलग्नता रहेको पाइएको छ ।

नेपालको कानुनलाई कहाँ कसरी व्याख्य गर्ने र रोकावट आएको खण्डमा कस्लाई कमिशन दिने भन्ने सम्पूर्ण ज्ञान लिएका पुर्व सरकारी कर्मचारी र नेपाल प्रहरीका अवकाश अधिकृतहरुको संलग्नतामा नेटवर्किङ व्यवसाय सञ्चालन गरि उपभोक्ता ठगी गरिदै आएको छ । भने अर्कोतर्फ सोही अबैध रकमको लगानी मिडियामा समेत रहेको भेटिएको छ । यसैबीच, अहिले झुठो विवरण पेश गरेर ७ वटा नेटवर्किङ कम्पनी सरकारी निकायमा दर्ता भएपनि ऐनलाई लत्याउदै पिरामिट शैलिमा कारोबार हुदै आएको छ ।

सो अबैध धन्दामा नेपाल प्रहरीका पूर्वनायव महानिरिक्षक (डीआईजी) छविलाल जोशीदेखि अन्य सरकारी कर्मचारी नेटवर्किङ व्यावसाय धन्दामा संलग्न भएका छन् । धेरै उपभोक्तालाई ठगी गरि तत्कालिन समयमा सरकारले कारबाही गरी बन्द गराएको हर्वो नामक कम्पनीले पछिल्लो समयमा नाम परिवर्तन गरि तिनै व्यक्तीले नेचर हब्र्स इन्टरनेसनल नामक नेटवर्किङ व्यावसाय दर्ता गराएर ठगी धन्दा चलाउदै आएको पाईएको छ । भने सो कम्पनीमा पूर्वडीआईजी जोशी उपाध्यक्ष रहेका छन् ।

नेटवर्किङ कम्पनीले सामाजिक सञ्जालमार्फत गरेको प्रचार

सो कम्पनीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा गत १७ असार पेश गरेको कम्पनीको इजाजतपत्रमा उनी उपाध्यक्ष रहेको भेटिएको छ । सो कम्पनीमा पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर, गितेन्द्रबहादुर राई समेत रहेका छन् । नेचर हर्ब्सले आफ्नो सञ्जाल सिंगापुर, मलेसिया, हङकङ, कतार, यूएई, भारत र नेपालसम्ममा विस्तार गरेको छ । सो कम्पनीका मलेसियाका प्रमुख एनआरएनए सचिव हेमराज सापकोटा रहेको भेटिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रत्यक्ष बिक्रीका नाममा प्रतिबन्ध लगाइएको उक्त व्यवसायलाई वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बनाएर इजाजत दिएसंगै अबैध रुपमा नेटवर्किङ व्यवसाय गर्दै आएपनि सम्बन्धित निकायले भने सो अनुसन्धान गर्न भने आँट गरेको छैन ।  यसरी गलत तवरबाट आर्जन गरेको र स्रोत नखुलेको रकमलाई पछिल्लो समयमा बढो चर्चा परिचर्चा गरि यूवटुवमा मात्र सिमित हुन पुगेको ‘ग्यालेक्सी फोर के’ नामक टेलिभिजनमा लगानी गरेको भेटिएको छ भने सो टेलिभिजनको उपाध्यक्षमा समेत उनै पूर्व डिआईजी जोशी रहेका छन् ।

अवैध नेटवर्किङ धन्दा गर्नेहरुको बिगबिगी बढ्दै जाँदा पनि सरकारले भने नियन्त्रण गर्न सकेको छैन । ऐन र निर्देशिका नै रोकेर सरकारबाटै संरक्षण समेत हुदै आएको भेटिएको छ । नेपालको कानूनले अवैध मानेको नेटवर्किङ धन्दा गर्नेहरुको बिगबिगी नियन्त्रण भन्दा पनि झन खुला हुदै गएको छ । थोरै लगानीमा छोटो समयमै धेरै आम्दानी गर्न सकिने र यो व्यवसायमा अरुलाई पनि जोडे कमिसन पाउने प्रलोभन देखाउँदै नेटवर्किङ व्यवसाय गर्नेहरुको बिगबिगी भएको हो ।

अहिले सो ठगी व्यवसाय अनलाइन र विभिन्न सामाजिक सञ्जालमार्फत् गरिदै आएको छ । अवैध नेटर्किङ व्यवसाय गर्नेहरुको ठगी धन्दामा परेको भन्दै अहिले विभिन्न निकायमा उजुरी परे पनि खासै कारबाही नहुदाँ ठगीधन्दा गर्नेहरुमा समेत हौसला बढेको भेटिएको छ । लामो समयदेखि दर्तामा अन्य व्यवसाय गर्ने भन्दै आएको दराज अनलाईन सपिङ नामक कम्पनी पनि अहिले नेटवर्किङकै शैलिमा गुणस्तहिन सामानको बिक्री गर्दै आएको छ । त्यस्तो अबैध कम्पनीहरुले आम्दानी गर्नका लागि शुरुका समयमा केही लगानी गर्नुपर्ने भन्दै पैसा माग्ने र पैसा उठाईसकेपछि त्यस्ता व्यक्तिहरु फरार हुने समेत गरेका छन् ।

यसरी ठगीधन्दा गर्दै आएका हाइपर फण्ड ग्लोबल, जोसियल, सिआरयु, विन्टर, क्राउड वन, सोलम्याक्स, पोइन्ट विसलगायत कम्पनीहरुमाथी कारबाहीको माग राख्दै विभागमा उजुरी परेपनि उनीहरुमाथी खासै कारबाही भएको भेटिएको छैन । केही स्वदेशी र विदेशबाटसमेत संचालित यी कम्पनीहरुले ठगी गरिरहेकोले विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रशासनलाई पत्राचार गरेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताएपनि त्यस्ता कम्पनीमा पुर्व प्रहरी अधिकृतहरुकै संलग्नता भएका कारण कारबाही अगाडी भने बढ्न सकेको छैन ।

आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारी गरेको सूचना

विभागले विस्तृत अध्ययन र अनुसन्धानका लागि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गर्दै आउने काममात्र भएको पाईएको छ । अहिले अधिकांश कम्पनी र व्यक्तिहरुले वस्तुको प्रत्यक्ष बिक्री वितरणका नाममा नेटवर्किङ शैलीको व्यवसाय गरिरहेको विभागको समेत ठहर रहेको छ । वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि वाणिज्य विभागबाट इजाजत लिएका र लिने क्रममा रहेका कम्पनीहरु पनि यस्तो व्यवसायमा संलग्न रहेका छन् ।

ती कम्पनीहरुले कानून विपरित काम गरिरहेको बारे सरकारी निकाय जानकार भएपनि कारबाही गर्न भने पछाडी हट्दै आएको छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ ले नेटवर्किङ शैलीको व्यवसाय गर्न नपाउने व्यवस्था गरेको छ । इजाजत नलिई वस्तुको प्रत्यक्ष बिक्री वितरणसम्बन्धी व्यवसाय गर्न, वस्तुको खरिद बिक्री गरी वा नगरी सदस्य बनाई वा बिक्रेता वितरण मार्फत् शूल्कमात्र लिनेगरी पिरामिडमा आधारित सञ्जालयुक्त व्यवसाय नेटवर्किङ गर्न नपाउने व्यवस्था गरिएको छ । तर सो व्यवस्थालाई लत्याउदै पिरामिट शैलिमा व्यवसाय चल्दै आएका छन् ।

विगतमा अवैध नेटवर्किङ धन्दा चलाएर अर्बौ रुपैयाँ बराबर ठगी गरेका व्यक्ति र कम्पनीहरुले नै वस्तुको प्रत्यक्ष बिक्रीका लागि इजाजत लिएपनि संसदीय समितिले समेत ठहर गर्दा पनि उनीहरुमाथी केही कारबाही गर्न सरकारले चाहेको छैन । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले गरेको अध्ययन पछि अवैध नेटवर्किङ धन्दा फेरी शुरु भएको र त्यसलाई रोक्नका लागि ऐन संशोधन तथा निर्देशिका बनाएर मात्र काम गर्न सरकारलाई निर्देशन दिएको भएपनि भित्रभित्रै सो अनुमति दिदै आएको छ ।

तत्कालिन समयमा नेटवर्किङ ऐन संशोधनको मस्यौदा र निर्देशिकाको मस्यौदा पूर्वउद्योगमन्त्री लेखराज भट्टले रोकेर कमिसन लिएको आरोप समेत लागेको छ । विभागबाट इजाजत पाएका कम्पनीहरुसमेत नेटवर्किङमार्फत हुने ठगी धन्दामा संलग्न हुदै आएका छन् । उनीहरुले वस्तुको प्रत्यक्ष बिक्री वितरणका नाममा इजाजत लिएको भएपनि अवैध नेटवर्किङ धन्दा चलाइरहेका छन् । मल्टिलेभल मार्केटिङ (एमएलए) का नाममा पिरामिड शैलीमा हुने व्यापारको ठगी धन्दा नै चलाईरहेको भेटिएको छ । वाणिज्य विभागबाट ७ वटा कम्पनीले वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि भन्दै इजाजत पाएका थिए ।

विभागबाट यसरी इजाजत पाएको नेचर हब्र्स इन्टरनेसनल प्रालिका सञ्चालकहरु विगतमा हर्बो र युनिटी ठगी काण्डका मुछिएका व्यक्ति हुन् । राजनीतिज्ञदेखि उच्च तहका पूर्व प्रशासन र पूर्व सुरक्षा अधिकारीसमेत यसमा संलग्नता रहेको छ । यो कम्पनीले विभागबाट प्रत्यक्ष बिक्रीको इजाजत नपाएको समयमा समेत लुकिछिपी गैरकानुनी रुपमा नेपालभित्र र केही अरु मुलुकहरुमा पनि नेटवर्किङ धन्दा गर्दै आएकोमा अहिले इजाजत पाएपछि भने खुलेआम काम गर्न थालेको छ ।

विगतमा हर्बो इन्टरनेसनलका नाममा सञ्चालित नेटवर्किङ कम्पनीका व्यक्तिले नेचर हब्र्स इन्टरनेसनलको अनुमति पाएपछि पनि उनै हर्वोका मालिक गीतेन्द्रबहादुर राई (जीबी राई), नेत्रपाणि बाँस्तोला, कुमार रम्तेल, माधव खनालनै संचालक भएर अबैधधन्दा गर्दै आएका छन् । नेचर हब्र्स जस्तै इजाजत पाएका आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि, केयर मार्टस इन्टरनेसनल प्रालि, यु–टर्न इन्टरनेसनल प्रालि र ग्लोबल ओरियन्ट नेपाल प्रालिका सञ्चालक  पुरानै गिरोहसँग जोडिएका व्यक्ति रहेका छन् ।

विभिन्न देशमा सञ्जाल (नेटवर्क) बनाएका यी कम्पनी र संलग्न व्यक्तिहरु इजाजत पाउनुअगावै पनि नेपालमा अवैध ढंगले लुकिछिपी यही काम गरिरहेको समुह रहेका छन् । नेपालमा यसअघि गोल्डक्वेस्ट, हर्बो, युनिटी, क्यु नेट, क्विक अर्निङ, एलटी एभरेष्ट हर्बल लाइफ ग्लोबल, ड्रिम डेभलपर्स ट्रेडमार्क, फुल्टन ट्रेडमार्क, विन विन, डियोसफ्ट, प्राइमजस्ता कम्पनीले नेटवर्किङ व्यवसायको अवैध धन्दाबाट लाखौं मानिस ठगी गरि लुकिछिपी अबैधधन्दा चलाउने समुहबाटै नाम परिवर्तन गरेर पुरानै धन्दालाई निरन्तरता दिएका छन् । यिनै कम्पनीमा रहेर विगतमा ठगी धन्दा चलाएका व्यक्तिहरु अहिले अर्कै कम्पनीको नामबाट व्यवसाय इजाजत लिइ फेरि त्यही धन्दामा फर्किने मेसो मिएका छन् ।

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV