बाढीको ‘इपिसेन्टर’ हेलम्बु

- July 4, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

सुदर्शन आचार्य /

भूगोल, भूगर्भविद् र मौसम पुर्वानुमानविद्को अनुमानविपरीत असार १ मा मेलम्ची खोलाले निम्त्याएको विपद्बाट हेलम्बु/मेलम्ची करिडोरका बासिन्दाको जनजीवन सामान्य अवस्थामा फर्कन सकेको छैन। मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र नाखोते हुँदै आएको बाढीले हेलम्बु भेगका तिम्बु, किउल, गणेशेबगर, चनौटे, ग्यालथुम तथा मेलम्ची नगरपालिकाको तालामाराङ तथा मेलम्ची बजार क्षेत्रका अधिकांश बस्ती क्षतिवक्षत बनाउँदा सयौं परिवार अहिले विद्यालय र त्रिपालमुनि आश्रय लिइरहेका छन् । २०७२ को विष्मयकारी भूकम्पका कारण छियाछिया भएको जमिनभित्र पानी पसेकै कारण पहिरो गई बाढीको बहाव बढेको अनुमान लगाइएको छ। त्यति ठूलो बस्ती नै बगाउने गरी पानी नपरेकाले स–साना ज्वालामुखी विष्फोट नैै भएको त होइन ? भन्ने आशंका कतिपयको छ। कारण जे भए पनि मनसुन प्रारम्भ अगावै सिन्धुको उत्तर–पश्चिम भेग हेलम्बु/मेलम्ची क्षेत्र भने खण्डहरमा रूपान्तरण भएको छ।

क्याम्प तथा पोष्ट पूर्ण रूपमा बगाएसँगै मेलम्चीबाट काठमाडौं पानी पठाउने काम केही समयका लागि अवरुद्ध हुने देखिन्छ

सिन्धुपाल्चोकको इतिहासमा असार १ कालो दिनको रूपमा रूपान्तरण त भयो नै निर्माण प्रारम्भ भएको २२ वर्षपछि काठमाडौंका बासिन्दाका लागि पिउने पानी सप्लाई गर्न सफल मेलम्ची खानेपानी आयोजनाको बाँध, सुरुङ सडक, पक्की पुल तथा मुहानको संरचनामा आंशिक तथा पूर्ण क्षति बनाएकै कारण ‘मेलम्ची पुनः अनिश्चत’ बनेको छ। पानीको बहाव तथा वर्षा दुवै नरोकिएकाले आयोजनाको क्षतिग्रस्त क्षेत्रमा कामदार पठाएर मर्मत गर्न तत्काल सकिने अवस्था देखिन्न। यद्यपि आयोजनाले भने प्रयास जारी राखेको बताएको छ। आयोजनाको अम्बाथान अडिट सुरुङ बन्द भएकाले सुरुका दिनमा पानी बाहिर पठाउन समस्या देखिएको थियोे। प्रवेश मार्ग हुँदै बाँध जोड्ने दुईवटा पक्की पुल र दुई वटा बेलीब्रिज सहित मुहान नजिकै रहेको इन्जिनियरिङ क्याम्प तथा सुरक्षा पोष्ट पूर्ण रूपमा बगाएसँगै आयोजनाबाट काठमाडौं पानी पठाउने काम भने निश्चित समयका लागि अवरुद्ध हुने नै देखिन्छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्थापित परिवारका लागि वैकल्पिक बसोबासको प्रबन्धको तयारी गरे पनि बाढी विस्थापितको बास अहिले पनि विद्यालय र त्रिपालमुनि नै छ। स्थायी वैकल्पिक बसोबासको व्यवस्थापनमै कठिनाई देखिँदा विस्थापितमा शारीरिकको अलावा मनोवैज्ञानिक समस्यासमेत सिर्जना हुन सक्ने बुझाइ विश्लेषकहरूको छ। जसकारण पनि स्थायी वैकल्पिक बसोबासको व्यवस्थापन तत्काल जरुरी देखिएको हो। बाढीको ‘इपिसेन्टर’ मानिएको हेलम्बुका वडा नम्बरहरू १, २, ३, ४, ६ र ७ मा १०१ घर पूर्ण क्षतिग्रस्त, २ हजार ३ सय ३१ व्यक्तिले विद्यालय तथा त्रिपालमा आश्रय लिएका छन् भने २० जना बेपत्ता छन्। विस्थापितको संख्या बढ्ने अनुमान लगाउन सकिन्छ भारी वर्षात्को समय आउन बाँकी नै छ। बाढीको दोस्रो प्रभावित क्षेत्र हो मेलम्ची। मानवीय क्षति मेलम्चीमा नभए पनि १ सय ७९ घर पूर्ण जोखिममा छन्।

                      लेखक : आचार्य

सिन्धुपाल्चोकभित्रको प्राकृतिक विपत्तिा भने यो पहिलो होइन। २०७२ को भूकम्पले ३९ सयजनाको ज्यान गयो। जुरेको पहिरो, भोटेकोशीको कटानको अलावा कोभिडको पहिलो मृत्युको शिकारसमेत सिन्धुपाल्चोककै सुत्केरी महिला भएकी थिइन्।

मेलम्ची नगरपालिकामा १ सय ७३ घर त पूर्ण क्षति नै भएर इन्द्रेश्वरी मावि र आसपासमा डेरा लिएर विस्तापित परिवार अहिले बसोबास गरिरहेको छ। मेलम्ची बजारको मूल समस्या भनेको बाढीको बहावले बगाएर ल्याएको ढुंगा÷माटोको र ४ सय १२ घर आंशिक क्षति भएका कारण खोलाको सतह बढेर बस्तीमा प्रवेश गर्नु नै हो। खोलाको बहाव घट्न नसकेका कारण बस्ती सुरक्षित गर्न कठिनाई भएको मेलम्ची नगरपालिकाले जनाएको छ। तथापि ७ वटा डोजरले बस्ती सुरक्षित गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ। सामाजिक क्षेत्रका अगुवा सागर श्रेष्ठका अनुसार मेलम्चीका स्थानीय बासिन्दाले विपद् न्युनीकरण तथा वैकल्पिक बसोबासका लागि जनस्तरबाट ‘समिति’ निर्माण गरेर पनि काम गरिरहेका छन्। तर, मौसमले उनीहरूलाई पूर्णरूपमा साथ दिएको छैन।

सिन्धुपाल्चोकभित्रको प्राकृतिक विपत्ति भने यो पहिलो होइन। २०७२ को भूकम्पले मुलुकभर ८ हजारको ज्यान लिँदा करिब आधाको संख्यामा ३९ सयको ज्यान सिन्धुपाल्चोकका बासिन्दाले गुमाएका थिए। जुरेको पहिरो, भोटेकोशीको कटानको अलावा कोभिडको पहिलो मृत्युको शिकारसमेत सिन्धुपाल्चोककै सुत्केरी महिला भएकी थिइन्। हरेक प्राकृतिक विपत्तिको पहिलो निशानामा सिन्धुपाल्चोक पर्दै गएको छ। भूकम्पका कारण कमजोर भएको जमिन, खोला आसपासका बस्ती, पहाडी भूभाग ज्यादा, स्वच्छ पानीमा गरिने व्यावसायिक उत्पादन ‘ट्राउट माछा’का लागि खोलाकै आसपासको बस्ती चाहिने आदि कारण वर्षेनी सिन्धुपाल्चोकले जन र धनको ठूलो क्षति व्यहोर्दै आएको छ। यो पटक पनि चनौटे बजारको रातो पुल बाँकी राखेर हेलम्बु क्षेत्रमा यातायात सम्भव भएको हो, अन्यथा हेलम्बु स्वयं पनि कर्णाली प्रदेशझैं बन्ने निश्चित प्राय थियो।

अहिले पनि हेलम्बुका २ वटा वडामा दैनिक खाद्यान्न हेलिकोप्टरको माध्यमबाट पुर्‍याउनु पर्ने बाध्यता छ। वर्षेनी विपद्का समय छलफल गरिने र विपद् न्युनीकरण हुनासाथ बिर्सिइने विषय भनेको एकीकृत बस्तीको अवधारणाको विषय हो। हेलम्बु÷मेलम्ची विपद्ले सिकाएको पाठ पनि अब वैकल्पिक एकीकृत बस्तीको खाँचो नै हो। हेलम्बुको ५ र मेलम्चीका २ वटा साना ठूला सहरलाई पूर्ण र आंशिक क्षति पुर्‍याएको परिवेशमा स्थानीय निकायको समन्वयमा राज्यले तत्काल वैकल्पिक एकीकृत बस्ती निर्माण गर्न ढिला गर्नु हुन्न। उता वर्षात्कै कारण सडक र पुल भाँसिदा नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय ठूलो नाका तातोपानी समेत बन्द भयो। जसले राष्ट्रिय राजस्वमा ठूलो नोक्सानी व्यहोर्नु परेको छ। सिन्धुको पुनस्र्थापनामा राज्य छिट्टै संवेदनशील नबन्ने हो भने बाँकी मनसुनको भयावहले थप अकल्पनीय क्षति हुन सक्ने अनुमान सहज रूपमा गर्न सकिन्छ।

मेलम्ची नगरपालिका भित्रको क्षतिको विवरणलाई पूर्ण रूपमा उल्लेख गर्न कठिन छ। तर होटल मेलम्ची हेरिटेज, रेडियो मेलम्ची, होटल रिभर रिसोर्ट, होटल रिभर साइड इन, कभर्ड हल, होटल रोज, पशु स्वास्थ्य केन्द्र, महिला विकास कार्यालय, नेकपा एमाले पार्टी कार्यालय र सुप कार्यालय लगायत कार्यालयहरू क्षतिग्रस्त भए। हेलम्बु गाउँपालिका भित्रको क्षतिमा इलाका प्रहरी कार्यालय भवन, पक्की पुल तीनवटा, झोलुंगे पुल ६ वटा, मेलम्ची आयोजनाको मुहान इन्टेक, २ नम्बर वडा कार्यालय भवन, हेलम्बु रेन्वो ट्राउट, भण्डारी रेन्वो ट्राउट र धर्तिमाता कृषि फर्म छन्। यस्तै ठंगले तामाङ रेन्वो ट्राउट, तामाङ रेन्वो ट्राउट एन्ड कृषि, लाङटाङ ट्राउट फर्म, जयबागेश्वरी ट्राउट फर्म, सिन्धु ट्राउट फर्म, मेलम्ची रेन्वो ट्राउट फर्म र त्रिलोचन भण्डारी ब्रोइलर फर्म पनि छन्।

वैकल्पिक बसोबास मिलाउँछौं : मेयर डम्बर अर्याल

मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले अस्थायी बसोबासका लागि इन्द्रेश्वरी विद्यालय आसपासका घरमा डेरा लिएर बस्ने र उहाँहरूका लागि दैनिक उपभोग्य खाद्यान्नदेखि पकाउने भाडाकुँडा र ग्यास चुल्होसम्मको व्यवस्थापन धमाधम गरिरहेको बताएका छन्। उनकै शब्दमा, अब हामी स्थायी प्रकृतिको वैकल्पिक व्यवस्थापनमा जुटेका छौं। हामी निश्चत रूपमा त पुगेका छैनौं, प्रभावितहरूको समिति छ, उक्त समितिसँग पनि परामर्श गर्छौं र हामी टुंगोमा पुग्छौं। वैकल्पिक बसोबासका लागि मेलम्ची ११ कै विद्यालय आसपास केही जमिन हामीले विकल्पको रूपमा लिएका छौं। सातवटा डोजर परिचालन गरिएको छ। बाढीको बहावमा कमी नआउँदासम्म काम निरन्तर गर्न कठिनाई भएको छ, तथापि हाम्रो प्रयास जारी छ। हामीले बजार क्षेत्र सुरक्षित राख्न सहयोग पुर्‍याउन भौतिक पूर्वाधार मन्त्रालय र प्रदेशस्तरमा पनि निन्तर पहल गरिरहेका छौं।

तत्काल निर्माण प्रारम्भ गर्नेछौं :अध्यक्ष शेर्पा

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका शब्दमा, जोखिम कायमै रहेकाले अहिलेका लागि त अस्थायी बसोबासको व्यवस्थापन गरेर खाद्यान्न सहित सुरक्षित राखेका छौं। तत्कालै दुई कोठा, किचेनसहित ट्वाइलेट बाथरुम सहितको निजी आवासको व्यवस्थापनमा छिट्टै जुट्दै छौं। त्यो बसोबासको व्यवस्थापन पनि स्थायी होइन। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा हामी प्रभावितको लागि स्थानीय स्तरमै वैकल्पिक बसोबासमा जुटेका छौं। स्थायी घर नै वर्ष दिनभित्र निर्माण गर्ने गरी हाललाई किचेन, बाथरुम सहितको अस्थायी घर यथासिघ्र निर्माणको चरणमा छौं। त्रिपाल र अस्थायी बसोबासमा हामी हेलम्बुका बासिन्दालाई लामो समय राख्दैनौं।

दाताको सहयोग र गाउँपालिकाकै स्रोतमा हामी वैकल्पिक स्थायी बसोबासको व्यवस्थापन र्छौँ। स्रोतकै कारण बसोबास निर्माण रोक्ने पक्षमा छैनौं। किनकि बाढीको बितण्डा त भयो नै, अब पनि विस्थापितलाई स्थायी बसोबासमा लैजान नसक्दा उहाँहरूमा मनोवैज्ञानिक समस्या समेत देखा पर्ने आकलन गरेका छौं। पूर्ण र आंशिक क्षतिको विवरण संकलन पश्चात हामी तत्कालै विवरण सरकार समक्ष पठाउँछौं। भवन निर्माण लगायतका लागि ढिलाइ गर्न हुन्न भन्ने हाम्रो मान्यता छ। काम तीव्रगतिमा भइरहेको छ। विस्थापितको तथ्यांक संकलन गरेपछि सरकारलाई उपलब्ध गराएर सरकारको समेत सहयोगमा स्थायी बसोवासको व्यवस्थापन यथासिघ्र गर्ने तयारी गरिरहेका छौं । (अन्नपूर्ण पोष्ट दैनिबाट साभार)

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV