भिख मागेर समाजसेवी अभियान्ता बन्नेको होड (समाचार विश्लेषण)

- June 28, 2021 मा प्रकाशित

छिटो खबरको एउटै विकल्प

रोशन कार्की

काठमाडौं । देशमा जव प्राकृतिक तथा अन्य विपत पर्छ र सो विपतबाट पीडित भएकाहरुको फोटो देखाउदै भीख माग्नेहरुको भीड अत्याधिकमात्रामा बृद्धि भएको छ । आफुलाई स्वधोषित सामाजिक अभियान्ताको नाम दिदै सामाजिक सञ्जालमा पीडित पक्षको विना अनुमति फोटो र भिडियो राखेर सहयोगकालागि अपिल गरि रकम संकलन गर्दै आउनेको समूह अहिले बाग्लो रहेको छ । पछिल्लो समयमा कोरोना महामारीका कारण धेरै नेपाली समस्यामा परेका छन् ।

थुप्रैको रोजगारी गुमेको छ । महामारीको चपेटामा परेर खानै नपाउने समस्या समेत उव्जेको छ । यस्तो अवस्थामा अरुबाट पैसा उठाएर राहत वितरण गर्ने खालका समाजसेवी छ्याप्छ्याप्ती भेटिएका छन् । कोहीले संस्था स्थापना गरेर सहयोग गर्दै आएका छन् । उनीहरूले भने सम्पूर्ण हिसाब प्रशासनमा बुझाउने गरेको बताइरहेको जनाएपनि सो विवरण भने सार्वजनिक गरेका छैनन । सो समुहले कति रकम संकलन गरे भन्नेबारेमा कुनै पारदर्शिता गर्न चाहादैनन् ।

कोही अरूबाट पैसा उठाएर दुई–चार जना मिलेर सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा प्रचार गरेर थप सहयोगकालागि सामाजिक सञ्जालबाट माग्ने गरिदै आएको छ । विभिन्न समुह र व्यक्तिबाट रकम मागेर आफूले सहयोग गरेका भन्दै फोटो भिडियो देखाएर थप सहयोग उठाइरहेका छन् । सहयोग उपलव्ध गराउनेको भने कतैपनि सूचित गरिएको छैन । यसरी अधिकाशं रकम विदेशमा बस्ने नेपालीहरुबाट संकलन गरिदै आएको छ । देशमा भएका पीडादायी दृष्य र भिडियो सामाजिक सञ्जालमा राख्दै सहयोगको अपिल गरि रकम संकलन गर्दै आएको पाईएको छ ।

यसैक्रममा जापानमा पैसा उठाउँदै नेपाल ल्याउने काम तथाकथित अभियान्ता ज्वाला सग्रौलाले गरेको भेटिएको छ । उनले अहिलेसम्म करोडौं बराबरको रकम उठाइ नेपाल ल्याएको भेटिएपनि के कति कहाँ कसरी खर्च भयो भन्ने बारेमा भने कुनै पारदर्शिता गरेको छैन् । उनले अहिलेसम्म कति पैसा चन्दा उठाइन र त्यो कहाँ कहाँ वितरण गरियो भन्ने हिसाब उनीले समेत राखेको भेटिएको छैन । जिल्ला प्रशासन कार्यालयले सामाजिक सेवामा सक्रिय रहेका सामाजिक संस्थालाई प्रत्येक महिनाको सम्पूर्ण गतिविधिको रिपोर्ट बुझाउनु पर्ने र सो रकम कहाँबाट कसरी आएको हो त्यसको विवरण अनिवार्य रुपमा बुझाउनु पर्ने विद्यमान व्यबस्था गरेको भएपनि सो व्यवस्थालाई लत्याउदै सामाजिक संघसंस्था आई रहेका छन् ।

ऐनमै व्यवस्था नभएको विषयमा आफुखुशी व्यक्ती विशेष फाउन्डेसनको नाममा अबैध रुपमा रकम संकलन हुदै आएको छ । कति त्यस्ता फाउन्डेसन दर्ता भएपनि हिसावकिताब भने अपारदर्शी रहेको पाईएको छ । अधिकाशं फाउण्डेशन दर्ता विनानै चलाएर रकम संकलन गरिदै आएको पाइएको छ । स्वघोषित सामाजिक अभियन्ताले गर्ने गरेको खर्च र उनीहरूले उठाउने गरेको चन्दाबारे न उनीहरुसँग हिसाब छ, न त प्रशासनले माग्ने आँट नै गरेको छ ।

पछिल्लो समय उनीहरूले सामाजिक सञ्जालमार्फत कति सहयोग आयो भन्ने जानकारी दिने गरेका छन् । तर, सामाजिक सञ्जाल आधिकारिक नभएर स्थानीय प्रशासनमा जानकारी गराउनु पर्नेमा त्यसो भने गरेको भेटिएको छैन । सम्बन्धित जिल्ला प्रशसनमा त्यस्ता फाउन्डेसनको कुनै पनि रेकर्ड समेत नभएको बताइएको छ । सामाजिक कार्यका लागि कुनैपनि कानून तथा नियमको पालना गर्नैपर्ने आवश्यकता नरहेको भन्दै तथाकथित अभियान्ता र समाजसेवीको नाममा अबैधधन्दा नै चलाउदै आएको भेटिएपनि सरकारले भने कारबाही नगर्दा त्यस्तो समूहको संख्यामा अत्याधिक बृद्धि हुन पुगेको छ । तथाकथित अभियान्ताहरुको जीवनशैलीमा भने असोचनिय परिवर्तन समेत भएको पाइएको छ ।

उनीहरुले प्रयोग गरेका भौतिक बस्तुहरुको आर्थिक स्रोत समेत सार्वजनिक गर्न सकेका छैनन् । स्वधोषित अभियान्ताहरुले भने उठाएको रकम र सहयोग गरेको सबै विवरण सामाजिक सञ्जालमाथि राखेर पारदर्शी गरे दाबी गर्दै आएका छन् । विद्यमान ऐन अनुसार सामाजिक सञ्जालमा राखिएको आर्थिक विवरणको हिसावकितावलाई औपचारिकता मानिदैन । समाजसेबीको नाममा विभिन्न आर्थिक गतिविधि गर्दै आएकाहरुसंग पारदर्शीता र उनीहरुको रकम संकलनको आधिकारीक विवरण बारे प्रश्न गरेको खण्डमा उल्टो जाईलाग्ने गरेका छन् । सो सम्बन्धमा उनीहरुबाट तुच्छ खालका अभिव्यक्तिसहित प्रतिवादमा उत्रिने गरेका छन् ।

कानुन अनुसार पैसा उठाउन पाइँदैन

मुलुकी अपराध संहिता, २०७४ ले कसैले पनि कुनै व्यक्तिको लागि सहयोग, चन्दा भन्दै पैसा उठाउन प्रतिबन्ध गरेको छ । अपराध संहिता, २०७४ को दफा १२६ (क) मा उल्लेख छ, ‘कसैले कुनै व्यक्ति कसुर पीडित भएको कारण देखाई निजको तस्बिर राखी वा नराखी सार्वजनिक रुपमा वा सामाजिक सञ्जालमार्फत आह्वान गरी वा नगरी निजलाई औषधी उपचार गर्ने, अन्य कुनै किसिमको राहत, सुविधा दिने वा अन्य कुनै प्रयोजनका लागि कसूर पीडित वा निजका परिवारको सदस्यको तर्फबाट कसैलाई चन्दा, सुविधा, सहयोग, अनुदानको नाममा कुनै किसिमको नगद वा जिन्सी माग्नु, लिनु वा प्राप्त गर्नु हुँदैन ।’

कसैले त्यसरी सहयोग उठाएको पाइएमा उक्त व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । उक्त व्यक्तिले सहयोग वा चन्दाको नाममा प्राप्त गरेको नगद वा जिन्सी जफत हुनेछ ।  अपराध संहिता, २०७४ को दफा १२६(क) को २ मा उल्लेख गरिएको छ, ‘उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यसरी प्राप्त गरेको नगदी वा जिन्सी जफत हुनेछ ।’ अहिले सो ऐन विपरित समाजिक अभियान्ताहरुको गतिविधि हुदै आएको छ ।

प्रतिक्रिया

 

 

 

Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV