विप्लव सार्वजनिक: एक हजारभन्दा बढी कार्यकर्ता रिहा

- March 5, 2021 मा प्रकाशित

काठमाडौं । सरकारले प्रतिबन्ध गरिएकाे नेपाल कम्युनिस्ट पार्टीकाेे प्रमुख विप्लव शुक्रबार सार्वजनिक भएका छन् ।   सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन् । यसअघि विप्लव समूहले आफ्ना एक हजार बढी नेता कार्यकर्ता राज्यले नियन्त्रणमा लिएको बताउदै आएको थियो ।सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र, बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत पर्नेछन् । सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दी बगाएकाहरुको रिहाइ गर्ने उल्लेख छ । साथै विप्लव समुहका नेता कार्यकर्तामाथिको मुद्दासमेत खारेज हुने भएको छ । सरकारले दुई वर्ष अघि फागुन महिनामै हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव समुहका गतिविधिमा प्रतिबन्ध लगाएको थियाे । काठमाडौं प्रस्थान गर्नुअघि अमरापुरीका पार्टी कार्यकर्ता र सहीद परिवारसँग विदाई हुँदै विप्लव नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई प्रहरीको स्कर्टिङमा आज दिउँसो काठमाडौं ल्याइँदै छ । उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गर्दै काठमाडौं ल्याउन लागिएको हो ।

विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । विप्लव विगतदेखि नै बेलबहादुरको घरमा बस्ने, नेताहरुसँग वार्ता गर्ने गर्दथे । उनी अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी शुक्रबार बिहानै काठमाडौंका लागि प्रस्थान गरेका हुन् । ‘गोप्य रुपमा कसैलाई थाहा नदिई काठमाडौं जाने भन्ने तयारी थियो, तर प्रहरीले थाहा पाएर नारायणगढबाट स्कर्टिङ गरेको छ,’ विप्लव समूह निकट स्रोतले भन्यो । यद्यपि चितवन प्रहरी भने स्कर्टिङबारे खुल्न चाहेन ।

तीन वर्षसम्म भूमिगत भएका विप्लव आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्ने छन् ।

प्रतिक्रिया