कोरोना संक्रमण जोखिम कायमैै : मृत्युदर १ प्रतिशत नाघ्यो

- February 27, 2021 मा प्रकाशित

मास्कको समुचित प्रयोग र भौतिक दूरीमा बेवास्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित २ लाख ७३ हजार ९ सय ८४ जनामध्ये २ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ । यसरी हेर्दा कुल संक्रमितमध्ये १.०१ प्रतिशतको मृत्यु भएको देखिन्छ ।

शुक्रवार देशभर १ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ सय ३६ जना रहेको छ । शुक्रबार ३ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २१ लाख ५७ हजार ५ सय ८० पुगेको छ ।

– हेलचेक्रयाइँ बढ्दो,
– मास्कको समुचित प्रयोग र भौतिक दूरीमा बेवास्ता

शुक्रबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामै प्राप्त भएको मृत्यु संख्या भन्दै मन्त्रालयले थप चार जना समावेश गरेको छ । हाल देशभर ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

गत २४ घण्टामा ५४ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ९८ दशमलव ६५ प्रतिशत संक्रमणमुक्त भएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा केही दिनयता दैनिक संक्रमण हुने दर १ सयको हाराहारीमा रहेको छ ।

कोरोना भाइरस संक्रमितको संख्या घटे पनि जोखिम भने कायमै रहेको छ । संक्रमणको जोखिम कायम भए पनि आमनागरिकले हेलचेक्रयाइँ गरेको पाइएको छ । चिकित्सकले मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र व्यक्तिगत सरसफाइलाई विशेष ख्याल गर्नुपर्ने बताउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या कम भए पनि जोखिम कायमै रहेकाले सचेत रहन आग्रह गरे । उनले भने, ‘मास्कको समुचित प्रयोग, भौतिक दूरी कायमलाई निरन्तरता दिनुपर्छ । जोखिम अझै घटेको छैन ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट जोगिन स्वयं व्यक्ति सचेत हुनुपर्ने बताए । उनले भने, ‘कोरोनाबाट बच्ने सबैभन्दा मुख्य उपाय भनेकै आत्मानुशासन हो । ख्याल ठट्टा गर्नुभएन ।’ अहिले विभिन्न स्थानमा दिनहुँ भेला, प्रदर्शन हुन थालेका छन् । यस्तै, विद्यालय पनि खुलिसकेका छन् । तर, अधिकांशले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा जोखिम बढ्न पुगेको हो । प्रशान्त वली, राजधानीबाट

प्रतिक्रिया