शैलुङले मल ल्याएन : ठेक्का सम्झौता खारेज, कालोसूचीनमा राख्न सिफारिस

- January 12, 2021 मा प्रकाशित

काठमाडौँ । सस्तोमा रासायनिक मल आयात गर्ने ठेक्का हात पारेका शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको ठेक्का सम्झौता खारेज गरी कालोसूचीनमा राख्न सिफारीस गरेको छ ।

ठेक्का सम्झौता अनुसार रासायनिक मल आयात नगरेपछि कृषि सामाग्री कम्पनीले सोमबार दुवै कम्पनीको सम्झौता खारेज गरी कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको हो । ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेजको कृषि सामाग्रीसँगको यो तेस्रो सम्झौता हो ।

शैलुङले कृषि सामाग्रीसँग मल आयात गर्ने तीन वटा ठेक्का सम्झौता गरेको थियो । एउटै पनि ठेक्का सम्झौता अनुसार काम भएन । मल आयात अहिले अलपत्र छ । कम्पनीसँग गरेको सम्झौता भन्दा अन्तर्राष्ट्रिय बजारमा मलको मुल्य महँगो पर्ने भएपछि ठेकेदार कम्पनीले मल आयात नगरी अलपत्र पारेको हो ।

ठेकेदार कम्पनी शैलुङले कृषि सामाग्रीसँग गरेको ठेक्का सम्झौता अनुसार मल आयात गर्न नसकेपछि कानुनी अनुसार कम्पनीलाई कालोसुचीमा राख्न सिफारीस गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ । शैलुङले कृषि सामाग्री कम्पनीसँग पटक पटक गरी ८० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने ठेक्का पाएको थियो ।

कम्पनीसँग गरेको समझौता अनुसार मल आपूर्ति नगरेपछि सबै सम्झौता खारेज गरी कानुनी कारवाही अघि बढाएको कम्पनीका प्रबन्ध संचालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । शैलुङ इन्टरप्राइजेजसँग पहिलो पटक २५/३० हजार मेट्रिक टन आयात गर्ने ठेक्का सम्झौता गरेको थियो । पछिल्लो पटक २५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने सम्झौता गरेको थियो ।

कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार शैलुङ इन्टरप्राइजेजसँग मल आयातका लागि २०२० जुन १९मा सम्झौता गरेको थियो भने मुक्तिनाथ कृषि कम्पनीसँग २०२० अगष्ट २ मा ठेक्का सम्झौता भएको थियो ।

कम्पनीले शैलुङसँग अमेरीक डलर ४ लाख २ हजार ५ सयमा २५ हजार मेट्रिक टन युरिया मल २८ नोभेम्बर २०२० सम्ममा आयात गरी सक्ने ठेक्का सम्झौता थियो भने मुक्तिनाथसँग अमेरिकी डलर ३ लाख ९९ हजारमा २५ हजार मेट्रिक टन युरिया र ३ लाख ९७ हजारमा २० मेट्रिक टन डिएपी ४ डिसेम्बर २०२० मा आयात गरी सक्ने ठेक्का सम्झौता गरेको थियो । दुबै ठेकेदार कम्पनीले सम्झौता बमोजिम मल आयात नगरेपछि कम्पनीले सोमबार सम्झौता खारेज गरी कानुनी कारवाही अघि बढाएको प्रवक्ता पोखरेलले बताए ।

उनले कम्पनीले मल आयात अलपत्र पारेपछि दुबै ठेकदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको बताए । कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको बैंक धरौटी जफत गर्न कम्पनीले प्रक्रिया अघि बढाएको बताए ।

कम्पनीले यसअघि २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न शैलुङ इन्टरप्राइजेजसँग र २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि होनिको मल्टिपल प्रालिसँग २०२० अप्रिल २४ र २७ अप्रिलमा सम्झौता गरेको थियो । कम्पनीले ५ सेप्टेम्बर २० भदौ सम्ममा सबै मल आयात गरी सक्नैपर्ने म्याद दिएको थियो । सम्झौता अनुसार मल आयात नगरेपछि कम्पनीले भदौ तेस्रोसाता सो सम्झौता खारेज गरेको थियो । कम्पनीले ठेकेदारसँगको बैक धरौटी समेत जफत गरेको थियो । प्रवक्ता पोखरेलले सोही अनुसार अहिले पनि कम्पनीलाई कानुनी कारवाही गरी सबै बैक धरौटी जफत गर्ने बताए ।  – कौशिला कुँवर, राजधानीबाट

प्रतिक्रिया