चौधरी ग्रुपपछि कर छलीमा उपेन्द्र महतो, सरकारले गरेन अनुसन्धान

- January 9, 2021 मा प्रकाशित

काठमाडौं । नेपाली भुमीमा विभिन्न नाममा कम्पनी स्थापना गरेर कारोबार गर्दै आएका धनी व्यवसायी चौधरी ग्रुपदेखि व्यापारी उपेन्द्र महतोले समेत देशको ढुकुटीमा बुझाउनु पर्ने कर नबुझाई छली गर्दै आएको पाइएको छ । पछिल्लो समय प्राप्त समाचार अनुसार चौधरी ग्रुपले लामो समयदेखि देशलाई बुझाउनु पर्ने कर राजश्व छली गर्नेमा पहिलो नम्बरमा परेपनि सरकारले सो कम्पनीमाथी कुनै पनि अनुसन्धान र कारबाही नगर्दा अहिले अधिकाशं व्यवसायीहरुले कर छलीलाई पहिलो प्राथमिकता दिएको पाईएको छ । चौधरी ग्रुपले १० अर्ब रुपैयाँभन्दा बढी राजश्व र कर छली गरेको सरकारी निकायबाटै पुष्टी गरेपनि सो रकम अहिले सम्म असुली गर्ने आँट सरकारले गर्न सकेको छैन । सरकारले कर छली गर्नेमाथी कारबाही गर्न नसक्दाको फाईदा अहिले अन्य व्यवसायीले समेत लिने गरेको पाईएको छ । आफुलाई एनआरएनको संस्थापक अध्यक्ष भएको भन्दै देशलाई बुझाउनु पर्ने कर नबुझाउनेमा व्यापारी उपेन्द्र महतो समेत रहेका छन् । उनको सम्पत्तिको केही हिस्सा नेपालकै ठूलो व्यावसायिक कम्पनी एनसेलबाट आएको हो । महतोले एनसेलबाट कति कमाए त ? अनि कमाएको नाफाबाट कति कर तिरे ? महतोले दुईपटक एनसेल (पहिले स्पाइस नेपाल नाम भएको) कम्पनीको शेयर बिक्री गरेको पाइन्छ । उनले २०६८ सालमा आफ्नो २० प्रतिशत शेयर बिक्री गरेका थिए । अनि त्यसैगरी त्यसको तीन वर्षअघि अर्थात् २०६५ सालमा पनि उक्त कम्पनीकै शेयर बिक्री गरेको देखिन्छ । हाम्रो अनुसन्धानले यी दुवै शेयर बिक्रीका क्रममा दुई प्रश्न खडा गरेको छ : महतोले ती शेयर कारोबारबाट दशौँ अर्ब रुपैयाँ कमाएका हुन् ? अनि कर छल्नका लागि ती शेयर कारोबार ‘अफसोर’ अर्थात् देश बाहिरै गरेका हुन् त ? हाम्रो रिपोर्टले यी कुराहरू खुलासा गरेको छ : २०६८ सालमा एनसेलको २० प्रतिशत शेयर खरीद गर्न विदेशमा नै लिइएको करीब रु.१८ अर्ब ६१ करोड (२३ करोड अमेरिकी डलर) ऋणमध्ये केही वा सबै महतोले बुझेको हुनुपर्छ ।
त्यसअघि २०६५ सालमा पनि सोही कम्पनीको अन्य शेयर बेच्दा रु.१३ अर्ब ७९ करोड (२० करोड ३० लाख अमेरिकी डलर) मुलुक बाहिरै लेनदेन गरिएको हुनसक्ने आधार हामीले भेट्टाएका छौं । यी विषयका सम्बन्धमा महतोलाई हामीले दुईपटक इमेलमा सोध्यौं । २०७७ असारमा महतोले यी विषयहरू ‘निजी तथा गोप्य’ रहेको बताए । इमेलमार्फत २०७७ कात्तिकमा सोधेका अरु केहि प्रश्नको जवाफ दिएनन् । तर, व्यवसायी महतोले २०७७ मंसीरमा आएर समग्रमा संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले भने, ‘नेपाली व्यवसायीले नेपाल बाहिर गरेको उन्नति, प्रगति कतिलाई पाच्य हुन्न । त्यसैले उनीहरू यस्ता व्यवसायीको कहाँ, के भेटिन्छ भनेर पछि लागेका हुन्छन् । नेपालका राष्ट्रिय संस्थाहरूले यो बुझ्नुपर्छ ।’ ‘जहाँसम्म एनसेलको २० प्रतिशत शेयर खरीदमा गडबडी भएको प्रश्न छ, टेलियाले गैरकानूनी रूपमा यो शेयर किनेको छ भने उसलाई कर तिराएर ‘लिगलाइज’ गर्नुभएन । यो जफत गर्नुपर्छ’ महतोले भने, ‘गैरकानूनी काम कर तिरेर कानूनी बनाउनुहुन्न । मेरो भनाइ यत्ति हो ।’

साइप्रससम्मको जालो

Dr Upendra Mahato talking with pressmeet after inauguration of Ncell Mobil After joined Mero mobil at Hotel Radision in Kathmandu on Friday. March 12,2010

२०६५ सालमा तत्कालीन स्पाइस नेपालको ६० प्रतिशत शेयर कजाकस्तानको भाइजर ग्रुप र बाँकी ४० प्रतिशत शेयर महतोे नियन्त्रित दुई कम्पनीको (नेपाल र साइप्रसमा दर्ता रहेको) स्वामित्वमा थियो । हामीले ६ जेठ २०६५ को (१९ मे, २००८) गोप्य शेयर खरीदबिक्री सम्झौता (सेल्स एण्ड पर्चेज एग्रिमेन्ट) को अध्ययन गरेका छौं । उक्त सम्झौता अनुसार महतोको साइप्रसस्थित कम्पनी डाल्टोट्रेडले स्पाइस नेपालको २० प्रतिशत शेयर रु.१३ अर्ब ७९ करोडमा बिक्री गर्ने सम्झौता गरेको देखिन्छ । यो शेयर भाइजर नियन्त्रित रेनोल्डस् होल्डिङ्सले खरीद गरेको थियो । टेलियाको एनसेलमा प्रवेश हुनु पहिलेको उक्त दस्तावेजमा महतोले हस्ताक्षर गरेको देखिन्छ । सम्झौतामा स्वीडेनको टेलिया कम्पनीको पनि संलग्नता देखिन्छ । सम्झौताको भाषाबाट टेलियाले त्यसको केही महीनाभित्रै स्पाइस नेपालको शेयर किन्ने योजनासमेत रहेको बुझिन्छ । हामीले टेलिया, महतो र भाइजरलाई उक्त दस्तावेजको आधिकारिकता तथा त्यसमा उल्लिखित केही विवरणहरू पुष्टि गर्न अनुरोध ग¥यौं तर कसैले पनि जवाफ दिएनन् । सरकारी अभिलेख अनुसार डाल्टो ट्रेडले रेनोल्ड्सलाई बिक्री गरेको समय भने २०६५ साउन उल्लेख गरिएको छ ।
१५ असोज २०६५ मा टेलियाले ट्याक्स हेभन नेदरल्याण्ड्समा दर्ता भएकोे कम्पनी (टेलियासोनेरा एशिया होल्डिङ्स बिभी) मार्फत अप्रत्यक्ष नियन्त्रण रहने गरी भाइजरसँग स्पाइस नेपालको शेयर खरीद ग¥यो । टेलियाको दस्तावेजका अनुसार टेलियाले स्पाइस नेपालको शेयर र कम्बोडियाको एक सानो टेलिकम कम्पनी खरीद गर्दा भाइजरलाई कुल रु.३६ अर्ब ३२ करोड (४८ करोड ४० लाख अमेरिकी डलर) भुक्तानी ग¥यो। यदि डाल्टो ट्रेडले पहिलो शेयर खरीदबिक्री सम्झौता अनुसारको बिक्री मूल्य रु.१३ अर्ब ७९ करोड थियो भने, लागत खर्च कटाएर पूँजीगत लाभकर लगभग रु.३ अर्ब ४२ करोड हुनुपर्ने देखिन्छ । गैरआवासीय नेपालीका लागि आयकर ऐन २०५८ मा पूँजीगत लाभमा २५ प्रतिशत कर लाग्ने व्यवस्था छ । यहाँनेर उक्त शेयरको कारोबार मुलुकबाहिरै भएको र त्यसबाट नाफा आर्जन गरेको तर नेपालमा कर नतिरेको हुनसक्ने आधारहरू देखिन्छन् । डाल्टोट्रेड ट्याक्स हेभन मुलुक साइप्रसमा दर्ता भएको कम्पनी हो । हामीले नेपाल राष्ट्र बैंकसँग सूचना माग गर्दा महतोले त्यसरी रकम ल्याएको अभिलेखमा नरहेको बताएको छ । शेयर खरीद बिक्रीबारे प्रत्यक्ष जानकार नेपाल सरकारको एक स्रोतले ठूला करदाता कार्यालयले कर बुझाउन उसलाई आदेश दिएको बतायोे । त्यसबाट सरकारले करीब साढे ६ करोड रुपैयाँ मात्र कर पाएको थियोे । हामीले यी प्रश्नहरू महतोलाई सोध्यौं तर उनले केही जवाफ दिएनन् । टेलियाले २०६५ मा यी शेयर कारोबारहरू बारे हामीलाई कुनै प्रतिक्रिया दिएन ।
उक्त स्वीडिस कम्पनीले अरू कसैको कर बक्यौता हुनुमा आफ्नो हात नरहेको बतायो । उसले भन्यो, “टेलियाले (नेपालको) कानूनबमोजिम लाग्ने कर तिरेको छ ।” महतोले २०६८ सालमा एनसेलमा रहेको बाँकी २० प्रतिशत शेयर आफ्नै व्यावसायिक साझेदार निरजगोविन्द श्रेष्ठलाई बिक्री गरे । महतोले राजश्व न्यायाधिकरणमा बुझाएको विवरणमा उक्त शेयर बेच्दा रु.२५ करोड मात्रै बुझेको उल्लेख गरेका छन् । तर टेलियाले श्रेष्ठलाई ट्याक्स हेभन मुलुक नेदरल्याण्ड्समार्फत २३ करोड अमेरिकी डलर अर्थात् त्यतिबेलाको सटही दर अनुसार रु.१८ अर्ब ६१ करोड ऋण दिएको थियो । केही समयपछि टेलियाकै प्रवक्ताले श्रेष्ठलाई एनसेलको २० प्रतिशत शेयर ‘खरीद गर्नका लागि’ उक्त ऋण दिइएको कुरा मिडियालाई बताए । विदेशबाट त्यस्तो ऋण लिंदा कानूनले तोकेबमोजिम नेपाल राष्ट्र बैंकको अनुमति तथा अभिलेखीकरण गर्नुपर्नेमा दुवै गरिएको छैन । यहाँनेर महत्वपूर्ण प्रश्न उठ्छः श्रेष्ठले त्यो शेयर खरीद गर्न लिएको ऋण (रु.१८ अर्ब ६१ करोड) को केही अंश वा सबै महतोलाई अथवा महतोको नेपाल बाहिरै रहेको कुनै संस्थालाई भुक्तानी गरे कि ? यदि त्यसो हो भने, नेपालका धनीमध्येका एक उपेन्द्र महतोले एनसेलको शेयर खरीद–बिक्रीबाट लगभग ४० करोड अमेरिकी डलर अर्थात् तत्कालीन दुई मितिको सटहीदर अनुसार रु.३२ अर्ब ४० करोड कमाएका हुन सक्छन् । यो हिसाब उनको दुवै कारोबार बारेका उपलब्ध दस्तावेजहरूको अध्ययनबाट निकालिएको हो । उनको यो सबै आम्दानी मुनाफा होरहोइन थाहा पाउन उनको खरीद र लागत खर्चको हिसाब आवश्यक पर्छ । उनले कति रकम स्पाइस नेपाल (हाल एनसेल)मा लगानी गरेका थिए भन्ने थाहा पाउन सकिएन । अनि महतोले पनि उनले स्पाइस नेपालमा गरेको लगानीबारे हामीलाई जानकारी दिन मानेनन् । उक्त टेलिकम कम्पनीको हिसाबकिताबका बारेमा विस्तृत जानकारी राख्ने एक विश्वस्त स्रोतका अनुसार महतोले सन् २००५ तिर ‘सम्भवतः करीब ४ करोड रुपैयाँ’ मात्रै आफ्नै रकम उक्त टेलिकम कम्पनीमा लगानी गरेका थिए । यदि एनसेलमा महतोको कुल लगानी समग्रमा यति थोरै थियो भने उनले कुस्त नाफा कमाएको हुनसक्ने देखिन्छ । हामीले उनको लगानीबारे प्रश्न गर्दा जवाफ दिएनन् । ठूला करदाता कार्यालयले महतोलाई २०६८ सालको कारोबारमा यथार्थभन्दा न्यून मूल्यांकन गरी कर छली गरेको आरोप लगाएको छ । महतोले उक्त आरोपविरुद्ध राजश्व न्यायाधिकरणमा पुनरावेदन गरेका छन् । महतोले पुनरावेदनमा भनेका छन्, “शेयर कारोबारमा संलग्न रहने यतिका सरोकारवालाहरू कसैलाई नसोधी, नबुझी तथा कसैसँग भएका प्रमाणहरूको वास्ता नै नगरी र माग नै नगरी कर अधिकृतले मनगढन्ते तरीकाले करको रकम घटाई जरिवानाको रकम बढ्ने गरी करदातालाई बद्नाम गराउने कुत्सित मनसाय राखी बद्नियतपूर्वक कर गणना गरी कुनै कर निर्धारण हुनसक्दैन ।” समग्रमा उनले ठूला करदाता कार्यालयलाई गलत आधारमा गलत अवधिमा गलत प्रक्रिया अवलम्बन गरी कर निर्धारण गरेको भन्दै कर निर्धारण खारेज माग गरेका छन् । यस सम्बन्धमा हाल मुद्दा चलिरहेको छ । यसैगरी हाम्रो अनुसन्धानले २०६५ सालमा एनसेलको शेयर बेच्दा कमाएको नाफामा कति कर तिर्नुपथ्र्यो भन्ने प्रश्न उठेको छ ।
यसरी बने धनी ‘रियल एस्टेड’ सम्बन्धी म्यागाजिन ‘प्रोपर्टी’ का अनुसार उनी काठमाडौंको विशालनगरमा रहेको यूरोपेली शैलीमा बनेको राणाकालीन दरबारलाई खरीद गरेर रि–डिजाइन गरी बनाइएको महल ‘यज्ञालय’ मा बस्छन् । महल भित्र सुन्दर सजावटसहितको बगैंचा छ । बेलारुसको एस्टेड पोलिटेक्निक एकेडेमीबाट सन् १९८८ मा इन्जिनियरिङमा स्नातकोत्तर गरेका महतोको जीवनमा रूस र पूर्व सोभियत संघले ठूलो प्रभाव पारेको छ । सन् १९९१ मा सोभियत संघको विघटनपछिको अस्तव्यस्तताका बीच अन्य थुप्रै व्यवसायीले जस्तै महतोले पनि त्यहाँ अवसर देखे । उनले तेल, टेलिभिजन उत्पादन गर्ने र रियल एस्टेडको व्यवसाय गर्नुका साथै बेलारुसको हेभी मेसिनरी उत्पादन गर्ने कम्पनी एम्कोडर पनि खरीद गरे । एनसेलमा महतोसँगै लगानी गर्ने कजाकस्तानको साझेदार इन्भेष्टमेन्ट कम्पनी भाइजरका अध्यक्ष ऐडन करिब्जानोभले रूसी भाषाको समाचार साइट इनबिजनेसलाई सन् २०१६ मा दिएको अन्तर्वार्तामा महतोको टेलिभिजन उत्पादन गर्ने व्यवसाय राम्रो नचलेको बताएका थिए ।
तर, छिट्टै नै उनको भाग्य चम्कियो । करिब्जानोभले उक्त अन्तर्वार्तामा भनेका छन्, “उनले टेलिभिजन उत्पादन गर्ने उद्योग (मस्कोस्थित) को गोदामलाई सबैभन्दा ठूलो सेकेन्ड ह्यान्ड सामान बेच्ने बजारमा रूपान्तरण गरी सिडी, इलेक्ट्रोनिक्स र अन्य सरसामान बिक्री गर्दथे । यसरी यी नेपाली छिट्टै धेरै धनी बने ।” महतो सन् २००० को दशकको शुरूतिर नेपाल फर्किए । सन् २००३ मा गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष बने । महतोले स्पाइस नेपालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहका ज्वाईं राजबहादुर सिंहसँग साझेदारी गरे । त्यतिबेलासम्म स्पाइस नेपालसँग खासै धेरै सम्पत्ति थिएन । अर्थात् ऊनीसँग लगभग टेलिकम लाइसेन्स मात्रै थियो । कम्पनीमा पूँजी र विज्ञता भित्र्याउनका लागि स्पाइस नेपाललाई विदेशी लगानीकर्ताको खाँचो थियो । यति नै बेला कजाकस्तानको इन्भेष्टमेन्ट कम्पनी भाइजर आइपुग्यो । इनबिजनेस समाचार साइटलाई करिब्जानोभले बताएअनुसार उनले महतोलाई मस्कोका एक साथीमार्फत भेटेका थिए । भेटका क्रममा महतोले करिब्जानोभलाई स्पाइस नेपालमा लगानी गर्न आग्रह गरेका थिए । सन् २००५ मा भाइजरले कम्पनीको एक टोलीलाई नेपाल पठायो । अनि त्यसपछि स्पाइस नेपालको व्यापक रूपान्तरण भएको देखिन्छ । वि.सं २०६५ सम्ममा एनसेलको ग्राहक १८ लाख पुगिसकेको थियो भने कम्पनीको वार्षिक खुद बिक्री लगभग रु.१ अर्ब ५० करोड पुगेको थियो । यतिबेलासम्म स्पाइस नेपाल स्वीडेनको टेलियासोनेरा (हाल टेलिया)को लागि लगानी गर्न लायक एक आकर्षक कम्पनी भइसकेको थियो । महतोले एनसेलमा रहेको आफ्नो शेयर २०६८ सालमा बेचे । यहाँनेर प्रश्न उठ्छ, महतोले नेपालको लगभग सबैभन्दा धेरै नाफा गर्ने तथा एक महत्वपूर्ण कम्पनीबाट कति नाफा गरे ? अनि उक्त नाफाबाट तिर्नुपर्ने सबै कर तिरे वा तिरेनन् ? –दीपक अधिकारी/ रुद्र पंगेनी

प्रतिक्रिया