पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी, वडाध्यक्षसमेेत पक्राउ

- December 3, 2020 मा प्रकाशित

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका घटना घटेका छन् भने यो अवधिमा १५ वटा उजुरी दर्ता भएका छन् ।

अभियानको पहिलो दिन मंसिर १० गते बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना मिलापत्रमा टुंग्याईएको घटना बाहिरियो । सो घटना ६ महिनापछि सार्वजनिक भएको थियो । सो घटना मिलापत्र गराउने वडाध्यक्ष सहित ६ जना पक्राउ परेका छन् । मिलापत्र गरेको आरोपमा एक जना अझै फरार रहेको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अभियानको दोस्रो दिन ११ गते डडेल्धुराको नवदुर्गा गाउँपालिकाकी मानसिक रोगी युवतीमाथि बलात्कार भयो । घटनामा पक्राउ परेका एक जनाको म्याद थप गरि अदालती प्रक्रियामा छ । बलात्कारमा संलग्न रहेको आशंकामा अर्का एक जनाको खोजी कार्य भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना सोमबार पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । असोज २५ गते साँझ आफ्नै घरमा बोलाई बलात्कार गरेका भन्ने जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुप समशेर जवराले बताए । पक्राउ परेका उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

५ दिनको अवधिमा कञ्चनपुरमा लैगिंक हिँसाका २, घरेलु हिंसाका ४ वटा उजुरी दर्ता भएका छन् । बैतडी र डडेल्धुरामा पनि घरेलु हिंसाका १–१ वटा उजुरी परेका छन् । कैलाली र कञ्चनपुरमा १–१ वटा बहुविवाहका उजुरी परेका छन् । डडेल्धुरामा १ र बैतडीमा २ गरी ३ वटा बलात्कार उजुरी परेको प्रदेश प्रहरी कार्यालयको तथ्याकंमा उल्लेख छ ।

बढ्दो महिला हिंसा घट्ना

सुदूरपश्चिममा पछिल्लो चार महिनायता प्रतिदिन सरदर दुई जना महिला हिंसाबाट पीडित भएको पाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार महिला हिंसा तथा महिलामाथि हुने जवरजस्तीकरणीका घटनाहरुको अवस्था बढोत्तरी छ । साउनदेखि मंसिर ९ गतेसम्म मात्रै महिला हिंसाका १ सय ५८ उजुरी परेका हुन् ।

जवरजस्तीकरणीका ९८, जवरजस्तीकरणी उद्योगका ३८ वटा उजुरी परेका छन् । अप्राकृतिक मैथुनका ३, यौन दुराचार (बाल यौन दुरुपयोग) का ५, मानव बेचविखन तथा जवरजस्तीकरणीका १, मानव बेचबिखन तथा ओसार पसारका ४, अपहरण तथा जवरजस्तीकरणीका ६ वटा उजुरी परेका छन् । भने हाड नाताका २ र जवरजस्ती करणी पश्चात कर्तव्य ज्यानको १ वटा उजुरी परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा बढी कैलालीमा ७७ वटा, कञ्चनपुरमा २९, डोटीमा ८, अछाममा ५, डडेल्धुरामा ९, बैतडीमा १२, बझाङमा १४, दार्चुलामा १ र बाजुरामा ३ वटा महिला हिंसाका उजुरी परेका हुन् ।

दण्डहिनता मौलाउँदो

समाजमा दिन प्रतिदिन महिला हिंसा तथा महिलामाथि हुने जवरजस्तीकरणीका घटनाहरु बढे पनि न्यूनीकरण तथा पीडितलाई न्याय र पीडकलाई कारवाही गर्ने तर्फ भने सरकारी उदासिनता कायमै छ ।

गएको असोज ७ गते बझांङको मष्टा गाउँपालिका २ की १२ वर्षिया सम्झना बिक, कार्तिक १३ गते डोटीको जोरायल गाउँपालिका ५ की १५ वर्षीया मानसिक सन्तुलन गुमाएकी बालिकामाथि अस्थायी प्रहरी चौकी गड्सेरामा कार्यरत एक प्रहरी जवानले जवरजस्तीकरणी गरे । भदौ ११ गते कैलालीको जानकी गाउँपालिका १ खैरीफाँटाकी १७ वर्षीयामाथि सामूहिक बलात्कार भयो ।

यी प्रतिनिधि घटना मात्रै हुन् । समाजमा महिला हिंसाको घटना कमी आउनुको साटो झन बढेको छ । महिला हिंसाको घटना न्यूनीकरणको लागि कडा कानून आउन जरुरी रहेको औल्याइएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बि कुमारी थापाले पुरुषप्रधान समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको बताउँदै अपराधीलाई कडा भन्दा सजाय नभएसम्म महिलाहरुमाथि हुने घटनामा कमी नआउने बताउँछिन् । पछिल्लो समय बढ्दो सचेतनाले पनि महिला हिंसाको घटना बाहिर आउन थालेको सरोकारवालको मत छ ।

प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पहिले–पहिले धेरै घटना गाउँघरमै लुक्ने तथा मिलापत्र गर्ने प्रवृतिलेगरेको भएपनि अहिले बढ्दो सचेतनाले महिलामाथि हुने घटना बाहिर आएको बताउँछन् । महिला हिंसा न्यूनीकरण तथा रोक्नमा जनचेतना तथा सचेतना नै सबैभन्दा प्रभावकारी अस्त्र भएको उनको भनाइ छ ।

पछिल्लो समय हिंसा सहेर बस्नु हुँदैन भन्ने सचेतनाले पनि अहिले हिंसामा परेका महिलाहरुको उजुरी दिनेहरु संख्या बढेको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरको बुझाई छ । दण्डहिनताको संस्कार मौलाएको भन्दै उनले कानुन कार्यान्वयन गर्ने निकायले कार्यान्वयन नगर्दा पनि बलात्कार तथा आपराधिक गतिविधि बढिरहेको तर्क गरिन् । – दीपक ओली, राजधानीबाट

प्रतिक्रिया