नुनदेखी सुनसम्मका पसलहरुमा कम तौलका ढक तराजु

- December 3, 2020 मा प्रकाशित

सप्तरी, राजविराज । चाडबाड अघि बजार अनुगमन सुरु गरिएको सप्तरीमा पर्वहरु सकिएपछि पनि उक्त अभियानलाई निरन्तरता दिइएको छ । बुधबार पनि सदरमुकाम राजविराजस्थित नुनदेखी सुनसम्मका पसलहरुमा टोलीले अनुगमन गरेको हो ।

गुणस्तर तथा नाप तौल कार्यालय बिराटनगरका प्रमुख शम्भु कुमार झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन, राजविराज नगरपालिका कार्यालय, उपभोक्ता मञ्च नेपाल, पत्रकार महासंघ लगायतका प्रतिनिधि सम्मिलित टोलीले बुधबारदेखी सुरु गरेको अनुगमन कार्य केही दिन अझै जारि रहने टोलीका प्रमुख झाले जानकारी दिएका छन् ।

पहिलो दिन नुनदेखी सुनसम्मको १ सय ४० भन्दा बढी पसलमा अनुगमन गरिएको छ । पहिलो दिनको अनुगमनमा पसलमा नापतौलका लागि प्रयोग गरिने ढक तराजुको जाँचलाई प्राथमिकता दिइएको र यस क्रममा माछा हटिया तथा हटिया बजारका अन्य पसलका गरि ४० जना भन्दा बढी व्यवसायीको ढक तराजुमा गडबडी पाइएको टोली प्रमुख झाले जानकारी दिएका छन् ।

ती सबै पसलका ढक तराजु जफत गर्नुका साथै एक पटकका लागि सचेत गराएर सुध्रिने मौका दिइएको टोलीमा सहभागि उपभोक्त मञ्च नेपालका महासचिव शत्रुघनलाल देवले बताए ।

टोलीले सुन पसलहरुमा समेत अनुगमन गरेकोमा केही दर्तै नभई संचालनमा रहेको तथा केही नविकरण नगराइएको पाइएकाले त्यस्ता पसललाई तत्कालै बन्द गर्न लगाई दर्ता र नविकरण गराउन पत्र काटिएको अनुगमन टोलीका प्रमुख झाले बताए ।

टोलीले अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य बस्तु जफत गरि नष्ट गरेको र पसलमा मुल्यसूची अनिवार्य टाँस गर्न तथा दर्ता नभएकालाई दर्ताका लागि १५ दिनको म्याद दिएको जनाएको छ ।

उपभोक्ता मारमा नपर्ने गरि व्यापार गर्न सबैलाई सुझाव पनि दिएका छौं, खाद्य प्रविधी गुण नियन्त्रण डिभिजन राजविराजका प्रमुख सुरेश सिंहले भने, अटेर गर्नेलाई कुनै पनि हालतमा छाडिन्न ।

प्रतिक्रिया