अधिकांश प्रशोधित पिउने पानीदेखि चाउचाउसम्म गुणस्तरहीन

- December 2, 2020 मा प्रकाशित

काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिमा बजार निरीक्षण अनुगमन गर्दा बजारमा आउने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको हो ।

विभागले प्रथम चौमासिक अवधिमा बजार निरीक्षण अनुगमन गरी १ हजार १ सय ८९ नमुना संकलन छ । संकलित नमुनाहरूको विश्लेषण परीक्षण गर्दा ७० वटा नमुना खाद्य ऐनको मापदण्डअनुसार छैन । मापदण्डअनुसार नपाइएका ७० नमुनामध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीमा नै गुणस्तरहीन र दूषित पाइएको छ ।

विभागको प्रथम चौमासिक अवधिमा बजार अनुगमन प्रतिवेदनअनुसार ७० नमुनामध्ये २१ नमुना प्रशोधित पिउने पानी दूषित र गुणस्तरहीन फेला परेको छ । यसैगरी, दानाका १६ नमुना, तेल तथा घ्युजन्य नमुना १४ र खाद्यान्न १० लगायतका अन्य खाद्यपदार्थका नमुना मापदण्डविपरीत गुणस्तरहीन पाइएको छ ।

विभागले आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिमा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा २६ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको जनाएको छ । मुद्दा दायर गरिएका २६ थान मुद्दामध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीका नै छन् । २६ थान मुद्दामा ५ मुद्दा प्रशोधित पिउने पानीका छन् । त्यस्तै खाने तेल ३, बेकरी ३, दाना २, चाउचाउ २, मिठाई २ का साथै घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रंग, बियर, मटर फ्राइजस्ता खाद्य पदार्थ छन् । ती मुद्दामध्ये आठवटा न्यून गुणस्तरका, सातवटा दूषितका, सातवटा मुद्दा लेबललगायत विवरण नमिलेका तथा बाँकी चारवटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लंघन गरेका थिए ।

चौमासिक प्रतिवेदनअनुसार विभागले खाद्य र दाना उद्योग, होटल रेस्टुरेन्ट, राजमार्गका होटललगायत १ हजार ८ सय ७३ पटक निरीक्षण अनुगमन गरिएको छ । पहिलो चौमासिक अवधिमा प्रशोधित पिउने पानीको गुणस्तर, खाने तेलको गुणस्तर, होटल रेस्टुरेन्ट, चामलको गुणस्तरलगायतका विभिन्न विषयका जम्मा १ सय ५३ उजुरीउपर कारबाही गरिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिमा विभागले निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन गरेको नपाइएका ३४ वटा उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दी गरेको छ । साथै नमुना संकलन गरी कारबाही अघि बढाइएको विभागले जानकारी गराएको छ । उत्पादन रोक्का एवं सिलबन्दी गरिएका ३४ वटा उद्योग एवं खाद्य व्यवसायमध्ये प्रशोधित पिउने पानीका १५ खाद्यान्न तथा दलहनका ८, दूध तथा दुग्ध पदार्थका ६, तेल तथा घ्यूजन्यका ३ र अन्य ३ खाद्य व्यावसाय रहेका छन् ।- कौशिला कुँवर, राजधानीबाट

प्रतिक्रिया