व्यापारीको छाता संगठनमा उग्र विवाद :आर्थिक चलखेलदेखि विधान विपरितका कृयाकलाप(भिडियो सहित)

- November 22, 2020 मा प्रकाशित

रोशन कार्की
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमका दौरान महासंघको विधान विपरित उम्मेदवार तथा सदस्य संस्थाका साथै ठूलो परिमाणमा आर्थिक चलखेल गरेको खुलेको छ । नयाँ नेतृत्वको बरिष्ठ उपाध्यक्ष सहित आफ्नो प्यानल नै जिताउन चन्द्र ढकाल समुह र किशोर प्रधान समुह दैनिक मदिरसहितको भोज गरी मतदातालाई आफ्नो पक्षमा पार्ने अबैध खेल समेत चलाई रहेका छन् । अर्कोतर्फ महासंघ निर्वाचन समितिले विद्यमान विधान विपरित बर्दिबास उद्योग वाणिज्य संघलाई मतदान अधिकार दिएको, मकवानपुरका पुर्व अध्यक्षलाई रामेछापबाट प्रतिनिधित्व गराई बागमति प्रदेशकातर्फबाट कार्यकारिणी सदस्यमा उम्मेदवार स्वीकृत गरेको र औषधी उत्पादक संघबाट २ जनाले दिएको उम्मेदवारी स्वीकृत गरेसंगै विवादमा रुमलिन पुगेको छ । महासंघको साधारण सभामा बर्दिवास उद्योग वाणिज्य संघले पहिलो पटक सहभागिता जनाएको हो। महासंघको नियमावलीले नयाँ सदस्यलाई एक पटक महासंघको साधारण सभामा सहभागि भए पछि अर्को पटकदेखि मात्र निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरेकोमा सो व्यवस्थाको विपरित अधिकार दिएको छ । नियमावलीको दफा १० (७) मा ‘कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्न र उम्मेदवार खडा गर्न चाहने सदस्यले कमसेकम अगाडीको कुनै एउटा वार्षिक साधारण सभामा भाग लिइसकेको हुनु पर्दछ’ भन्ने व्यवस्था गरिएको छ । तर अहिले सो बुँदालाई लत्याउदै दुवै पक्षले गलत कार्यलाई समहति दिएपछि विधान विपरित अहिले कार्य हुदै आएको छ ।

बर्दिवासलाई महासंघका प्रमुख निर्वाचन आयुक्त एवं एनसीसी बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले एकल निर्णयमा बर्दिवास उद्योग वाणिज्य संघलाई मतदान गर्ने अधिकार दिएको समेत आरोप रहेको छ । उनले अरु पनि नयाँ संस्थालाई जसरी मतदान प्रकृयामा सहभागि हुन नदिनु पर्ने भए पनि आर्थिक चलखेलमा यस्तो गरेको बुझिएको छ । बर्दिवाससँगै बिर्तामोड, कन्काई, पथरी, अत्तरिया लगायतका उद्योग वाणिज्य संघ पनि पहिलो पटक महासंघको साधारण सभामा सहभागि हुँदै छन् । तर बर्दिवासलाई अवैधानिक रुपमा न्यौपानेले मतदान अधिकार दिएका हुन् । महासंघ निर्वाचन समितिका प्रमुख न्यौपानेले विधान विपरित रामेछाप उद्योग वाणिज्य संघका तर्फबाट बागमती प्रदेशको केन्द्रिय सदस्यमा राजकुमार न्यौपानेको उम्मेदवारीलाई पनि स्वीकृत गरेका छन् । यस सम्बन्धमा दाबी बिरोध पेश गर्दा समेत उक्त बिरोधलाई प्रमुख निर्वाचन आयुक्त न्यौपानेले सम्बोधन नगरी एकलौटी निर्णय गर्दै उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका हुन् । उक्त नामावलीमा निर्वाचन समितिका सदस्य रमण कुमार कर्णले फरक मत अर्थात ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

‘मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका राजकुमार न्यौपानेलाई सम्बन्धित जिल्लाबाट पुरा गरेर आउनु पर्ने मापदण्ड विपरित कसरी रामेछाप उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गराइयो ?’ अर्का एक उम्मेदवारले निर्वाचन समितिको कार्यशैलीप्रति प्रश्न गरे । महासंघको विधानको दफा ४६ को उपदफा ३ को (क) (ऊ) मा ‘कार्यकारिणी समितिमा सदस्य हुनका लागि सदस्य संघबाट आफुले प्रतिनिधित्व गर्ने संघको पदाधिकारी भई एक कार्यकाल पुरा गरेका’े हुनु पर्ने उल्लेख छ । ‘मकवानपुरका पुर्व अध्यक्ष राजकुमार न्यौपानेले रामेछापमा कहिले कुन कार्यकाल पुरा गरे र निर्वाचन समितिले विधानमा भएको व्यवस्था विपरित उनको उम्मेदवारीलाई स्वीकृत गर्यो ?’ ती उम्मेदवारले प्रश्न गरे । ‘उपेन्द्रजीको नातेदार भएका कारण राजकुमार जी को मनोनयन उपर कुनै कार्वाही नगरिएको हो’ उनले भने ।
विधानमा भएको व्यवस्थालाई पाखा लगाउँदै निर्वाचन समितिले न्यौपानेको उम्मेदवारीलाई स्वीकृत गर्नुले आर्थिक चलखेल भएको आशंका पनि उनले गरेका छन् ।  महासंघ निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त उपेन्द्र केशरी न्यौपाने नेपाल क्रेडिट एण्ड कमर्श बैंकका अध्यक्ष समेत हुन् । आफैं मतदाता रहेका न्यौपानेलाई प्रमुख निर्वाचन आयुक्त बनाइएकोमा पनि उनले बिरोध जनाएका छन् । ‘कार्यतालिका अनुसार एउटा पक्षले राखेका बिचार र दाबी बिरोधलाई सुन्दै नसुन्ने अनि अर्को पक्षका अवैध उम्मेदवार र मतदाता स्वीकृत गर्ने काम उपेन्द्रकेशरी न्यौपानेबाट भईरहेको छ । यसमा आर्थिक चलखेल भएको छ,’ उनले भने, ‘यदि न्यौपानेले गरेको निर्णय सही हुन्थ्यो भने निर्वाचन समितिका सदस्य रकमण कुमार कर्णले किन फरक मत राख्नु भयो ?’ निर्वाचन समितिका सदस्य रमण कुमार कर्णले उम्मेदवारको नामावलीको सूची सार्वजनिक गर्ने क्रममा नेपाल औषधी उत्पादक संघबाट २ जनाको उम्मेदवारी परेको भन्दै नाट अफ डिसेन्ट लेखेका छन् । वस्तुगत तर्फका उपाध्यक्षका प्रत्यासी उमेश लाल श्रेष्ठ र सदस्यका प्रत्यासी दिपकप्रसाद दाहाल औषधी उत्पादक संघबाट मनोनयन भएको भन्दै निर्वाचन समिति सदस्य कर्णले फरक मत राखेका हुन् ।


यसरी एउटा प्यानलको पक्षपोष र अर्को प्यानलको कुरालाई पाखा लगाएर महासंघका प्रमुख निर्वाचन अधिकृत न्यौपानेले महासंघको गरिमालाई कमजोर बनाउने काम गरेका छन् । यस सम्बन्धमा महासंघको वर्तमान नेतृत्वले चासो देखाउनु पर्ने अवस्था आएको छ । यसैगरी, महासंघको बरिष्ठ उपाध्यक्षमा हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्रप्रसाद ढकालको बीच कडा प्रतिस्पर्धा हुने भएको छ । बैकिङ क्षेत्र र व्यवसायीक क्षेत्रमा बोलवाला बनाउदै आएका ढकाल र अनुभवले खारिएका तर उद्योगधन्दा नभएका प्रधानबीचको प्रतिस्पर्धालाई महासंघका पूर्व अध्यक्षहरूले सहमतिमा ल्याउने प्रयास गरे पनि त्यो पुरा नहुने पक्कापक्कि भएको छ । महासंघको साधारणसभा तथा निर्वाचनको मिति नजिकिदै जाँदा सहमतिका लागि पूर्व अध्यक्षहरूले गरेका प्रयास निरर्थक बन्ने देखिएको हो । सहमतीकालागि खुलेरै प्रधान समुहलाई समर्थन गरेपछि ढकाल समुह बार्तामै नगएको भनाई व्यवसायीहरुको रहेको छ । बर्तमान अध्यक्ष भवानी राणा र बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले खुलेरै प्रधान समुहलाई समर्थन गरे चुनाबी प्रचारमा लागेपछि ढकाल समुह चिडिन पुगेको हो । प्रधानको समुहलाई बरिष्ठ उपाध्यक्ष गोल्छाले विद्यमान ऐनलाई नै लत्याउदै ‘शेखर गोल्छा समुह’ भन्दै प्रधान समुहको चुनाबी प्रचार गर्नमा व्यस्त रहेका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेद्धार किशोर प्रधानले अहिलेसम्म सहमतीकालागि कुनै जानकारी आफुलाई नआएको र दुवै पक्षबीच कुरा मिलेको खण्डमा सहमति हुन सक्ने संभाबना पनि रहेको बताए । दुबै समुहलाई सहमतिमा ल्याउनका लागि महासंघका अध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरू रवि भक्त श्रेष्ठलगायतका टिम लागि परेपनि उनीहरूले सहमति गराउन नसक्ने प्रष्ट भएको छ । दुबै पक्षबाट आफ्नो समुहलाई जिताउन प्रशस्तै पैसा समेत खर्च भइसकेको अवस्था रहेकोले पनि वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा छाड्न दुवैजना अनिइच्छुक देखिएका छन् । महासंघको निर्वाचनको मिति नजिकिदै जाँदा मतदाताहरूलाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरूले आ–आफ्नो रणनीति बनाउँदै गएका छन् । खासगरी एसोसिएटस सदस्यहरूबाट आफ्नो समूहका उम्मेदवारलाई जिताउन दुबै पक्ष सक्रिय देखिएका छन् । यहि क्रममा चुनावी नतिजालाई आफ्नो पक्षमा पार्न पछिल्लो समय ढकाल प्यानलले सरकारी स्वामित्वका सार्वजनिक संस्थान, कर्पोरेट हाउस र बैंक तथा वित्तीय संस्थालाई आफ्नो पक्षमा पार्न रणनीति चाल चलिरहेको छ । सरकार निकट मानिने ढकालले सरकारी स्वामित्वका सार्वजनिक संस्थान तथा वित्तीय क्षेत्रका मतदातालाई आफ्नो पक्षमा पार्न खोजेको आरोप लागेको छ । प्रधानका अनुसार सरकारी निकायबाटै गलत काम गरेपनि र जो संग इमान र इज्ज्वत हुदै उनीहरुको बारेमा कुनै कुरा नगर्न आफुले नचाहेको बताए ।

नेपाल आयल निगम, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष, नेपाल स्टक एक्चेन्ज, नेपाल विद्युत प्राधिकरणलगायतका सबै सार्वजनिक संस्थानको भोट आफ्नो पक्षमा पार्न सरकारी उच्च स्रोतको उपयोग गरिरहेको आरोप समेत चन्द्र ढकालमाथी लागेको आरोप समेत चन्द्र ढकालमाथी लागेको छ । हाल नेपालमा ३७ वटा सार्वजनिक संस्थान छन् । वित्तीय क्षेत्रमा जमेका ढकाल आफै बैंकर्स र उद्यमी भएकाले बैंक, बीमालगायत वित्तीय क्षेत्रको भोटलाई उनले आफ्नो अधिकार सम्झेर उपयोग गर्न खोजेको पनि बुझिएको छ । यससम्बन्धमा पटकपटक चन्द्र ढकालालाई फोन सम्र्पक गर्दा उनले फोन रिसिभ नै गरेनन् । महासंघ विधानले साधारणसभामा भाग लिनको लागि एसोसिएट्स सदस्यको लागि उक्त संस्थाको सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष तथा सदस्य र कार्यकारी सञ्चालकबाट कार्यकारी प्रमुख, महाप्रवन्धक तथा नायव महाप्रवन्धकलाई उक्त जिम्मेवारी दिन सक्ने व्यवस्था गरिएको छ । यसैलाई सार्थक बनाउन उनीहरूले गुट उपगुट तथा प्रलोभन समेत देखाइरहेको पाइएको छ । (भिडियो साभार : प्राइम टिभी)

महासंघका चन्द्र र किशोर माथी गम्भीर आरोप: नेतृत्व हत्याउन यि समुहले गरे विद्यमान ऐन विपरित काम (भिडियो)

महासंघको केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका श्रेष्ठद्ववको उम्मेदवारी

 

प्रतिक्रिया