कोभिडका कारण बैंकको खराब कर्जामा वृद्धि, आम्दानीसमेत प्रभावित

- November 20, 2020 मा प्रकाशित

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा धेरै वाणिज्य बैंकको नाफा घटेको छ । कोभिड–१९ संक्रमणको महामारीले गर्दा बैंकको नाफा घटेको हो । कोभिडका कारण बैंकको खराब कर्जा बढ्नुका साथै ब्याजलगायतका आम्दानीसमेत प्रभावित भएपछि नाफामा असर गरेको हो ।

चालु आर्थिक वर्ष २०७७-७८ को प्रथम त्रैमासमा वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ ।

वाणिज्य बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरणअनुसार २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ । ९ वटा बैंकले भने नाफा बढाएका छन् । मर्जरमा गएका वाणिज्य बैंकको नाफा वृद्धि भएको छ । तर, प्रभु बैंक, एनआईसी एसिया बैंक र नेपाल बंगलादेश बैंक मर्जरमा गएको भए पनि नाफामा खासै अन्तर आएको छैन ।

आर्थिक वर्ष २०७५-७६ मा वाणिज्य बैंकको नाफाको वृद्धिदर ३० प्रतिशत थियो । आर्थिक वर्ष २०७६÷७७ मा आउँदा ६ प्रतिशतमा सीमित भएको थियो ।

सार्वजनिक विवरणअनुसार असोज मसान्तसम्म वाणिज्य बैंकले १४ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन् । गत वर्षको यसै अवधिमा बैंकहरूले १५ अर्ब ५५ करोड ५४ लाख कमाएका थिए । पहिलो त्रैमाससम्ममा अधिकांश बैंकको नाफा घट्दा समग्र नाफामा ५.१२ प्रतिशतले कमी आएको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ ।

पहिलो त्रैमासको वित्तीय विवरणअनुसार ग्लोबल आईएमई बैंकले १ अर्ब ५ करोड ८८ लाख नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यसको नाफा ७५ करोड ३१ लाख थियो । त्यस्तै, नबिल बैंकले १ अर्ब ३ करोड ५७ लाख, एनआईसी एसिया बैंकले १ अर्ब २ करोड १० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १ करोड ७३ लाख, प्रभु बैंकले ८५ करोड करोड नाफा कमाएका छन् । मेगा बैंकले ६० करोड ७९ लाख कमाउँदा बंगलादेश बैंकले ५७ करोड ११ लाख, एनएमबी बैंकले ७३ करोड २९ लाख नाफा कमाएका छन् । यसैगरी सिटिजन्स बैंकले ५१ करोड ५५ लाख र कुमारी बैंकले ६० करोड २५ लाख नाफा बढाएका छन् ।

एक वर्षअघि छैटौं स्थानमा रहेको ग्लोबल आईएमई बैंक अहिले अग्र स्थानमा छ । त्यस्तै एक नम्बरमा रहेको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अहिले अंक तालिकाको छैटौं स्थानमा झरेको छ । त्यस्तै, नविल र एनआईसी एसिया बैंक अंक तालिकामा क्रमशः दोस्रो र तेस्रो स्थानमा यथावत् छन् ।

एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड, एसबीआई, हिमालयनजस्ता विदेशी स्वामित्व भएका बैंकको नाफा भने उच्च दरले घटेको छ । एसबीआईको सबैभन्दा धेरै ५४ प्रतिशतले नाफा घटेको छ । एभरेस्टको ५१, हिमालयनको ४७ र स्ट्यान्डर्ड चार्टर्डको ३७ प्रतिशतले नाफा घटेको छ । त्यस्तै नाफाका आधारमा अन्तिम स्थानमा रहेको सिभिल बैंकको ३९ प्रतिशतले घटेको छ ।

कोभिडका कारण बैंकको खराब कर्जा वृद्धि भई जोखिम व्यवस्थापनबापत छुट्याउनुपर्ने रकम वृद्धि गरेपछि नाफामा असर गरेको एक बैंकरले बताए ।

कोरोना भाइरसको महामारीका कारण बैंकको व्यवसाय वृद्धि हुन नसक्दा पनि नाफा प्रभावित भएको छ । बैंक तथा वित्तीय क्षेत्रलाई प्रत्यक्ष असर नपरेको भन्ने दाबी गरिएको परिवेशमा बैंकको नाफा घटेसँगै कोभिडको प्रभावित क्षेत्रमा बैंकसमेत परेको देखिएको छ ।

बैंकले पर्यटन, उद्योग तथा निर्माण शिक्षालगायतका विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्न नसक्दा लिक्विडिटी बढेको थियो । यसले गर्दा बैंकहरूले नाफा कमाउन सकेन । चैतभन्दा पहिले लगानी गरेको कर्जा पनि उठ्न नसक्दा बैंकहरूलाई थप समस्या परेको थियो ।

कोभिडका कारण बैंकहरूको प्रशासनिक खर्च र जोखिम भत्ता बढ्दा पनि नाफामा कमी भएको आँकलन गरिएको छ ।  – पूूर्णभक्त दुवाल, राजधानीबाट

प्रतिक्रिया