भन्सार चाेरी तस्करीमा डुंगा र अटोरिक्साकाे प्रयोग

- November 19, 2020 मा प्रकाशित

सप्तरी । कुनै बेला सप्तकोशी नदीमा डुंगाको प्रयोग माछा मार्ने र बाढीले बगाएर ल्याउने रुख र काठ संकलन गर्ने कार्यमा प्रयोग हुँदै आएको थियो । तर हाल आएर डुंगाको प्रयोग तस्करीका सामान ओसार पोसार गर्ने कार्यमा प्रयोग हुन थालेको पाइएको छ ।

केही दिन यता एकपछि अर्को गरि डुंगाबाट लाखौंको तस्करीका सामान बरामद हुन थालेको छ । नेपालमा महगो मुल्यमा बिक्रि हुने सरसामान भारतीय बजारबाट ल्याउने र भारतीय बजारमा महगो मुल्यमा बिक्रि हुने सरसामान यताबाट डुंगामा राखी लैजाने क्रम बढेपछि प्रहरीले सक्रियता समेत बढाएको छ ।

यसैक्रममा पछिल्लो पटक बुधबार अबैध रुपमा भारतबाट डुंगामा लोड गरि ल्याउँदै गरेको ८ लाख ९३ हजार मुल्य बराबरको सरसामान प्रहरीले जफत गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ स्थित सप्तकोशी नदी हुँदै भारतबाट अबैध रुपमा डुंगामा लोड गरि ल्याउँदै गरेको सो परिमाणको बाला र चुरा सेट, खम्बा फुल र सप्तरंगी कागजलगायतका सामाग्रि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

केही दिनयता डुंगाको प्रयोग तस्कारीमा हुन थालेको खबर आएपछि सादा पोशाकमा सुरक्षाकर्मी समेत निगरानीका लागि परिचालन गरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए । दुई महिनाको अवधीमा डुंगाबाट तस्करी गरी ओसार पोसार गर्न लागिएका १९ लाख भन्दा बढीका सरसामान जफत गरी भन्सार कार्यालयलाई बुझाइएको उनको भनाई छ ।

बुधबारै सोही नगरपालिकाको वडा नं. १४ स्थित हनुमाननगर–कुनौली सडक खण्डमा चेकजाँचको क्रममा भारतबाट भन्सार छलेर प्रदेश नं. १–०४–०००१ ह. ००७३ नम्बरको अटोरिक्सामा लुकाई छिपाई ल्याउँदै गरेको ३ लाख ८ हजार मुल्य बराबरको बाला र चुरा सेट प्रहरीले बरामद गरेको छ ।

सो क्रममा अटो रिक्सा चालक सोही नगरपालिका निवासी २० वर्षीय सेवाज खंग र समानधनी महोत्तरीको गौशाला नगरपालिका २ निवासी ३६ वर्षीय सन्तोष कुमार साह पक्राउ परेका छन् । यसरी बरामद गरिएको तस्कारीका सामान भन्सार कार्यालय चलान गरी पक्राउ परेका व्यक्ति उपर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्लान प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।- एम के माझी, राजधानीबाट

प्रतिक्रिया