वडा सदस्यद्वारा मदिरा सेवनपछि नगरपालिका कार्यालय टाेडफाेडकाे प्रयास

- November 18, 2020 मा प्रकाशित

नगरपालिका तोडफोड गर्ने वडा सदस्य शाही र तोडफोड गरिएको नगरपालिका कार्यालय। तस्बिर : बिस्नप्रसाद न्यौपाने।

कालिकोट : जिल्लाको रास्कोट नगरपालिकामा वडा सदस्यले नगरपालिका कार्यालयमा बञ्चरो प्रहार गरेका छन्। रास्कोट नगरपालिका वडा नं. ४ का वडा सदस्य कालीबहादुर शाहीले मदिरा सेवन गरी मंगलबार बेलुका नगरपालिका कार्यालयमा बञ्चरो प्रहार गरेका हुन्।

नगरपालिका प्रमुख कासीचन्द्र बराल, प्रमुख प्रशासकीय अधिकृतले फोन नउठाएको र आफूले काम गरेको योजनाको रकम भुक्तानी नदिएको भन्दै नगरपालिका कार्यालयमा बञ्चरो प्रहार गरेको उनले बताएका छन्।

रास्कोट नगरपालिका वडा नं. ४ स्थित सिम्भुनाथको मन्दिर नजिकै धर्मशाला बनाउने योजना थियो। त्यो योजनाको काम पूरा गर्न चालु आर्थिक वर्षमा नगरपालिकाबाट १० लाख बजेट दिने निर्णय गरेको थियो। वडा सदस्य कालीबहादुर शाहीले भने, ‘काम गरियो भुक्तानी पाइएन। नगरपालिका प्रमुख बराल र प्रमूख प्रशासकीय अधिकृतले फोन पनि नउठाएपछि आवेगमा आएर बन्द रहेको नगरपालिका कार्यालयमा बञ्चरो प्राहार गरेको हो।’ वडा सदस्य शाहीले मदिराको तालमा नगरपालिकामा बञ्चरो हान्दै गर्दा रास्कोट प्रहरीले बञ्चरो सहित नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय रास्कोटका इन्चार्ज राजनकुमार मल्लले वडा सदस्य शाहीले नगरपालिकाको कार्यालयमा बञ्चरो हान्दै गर्दा पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार आफूले काम गरेको योजनाको भुक्तानी नपाएको र नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले फोन समेत नउठाउने गरेकाले नगरपालिका तोडफोड गर्न गएको बताएका थिए। उनी बञ्चरो समेत प्रहरीको नियन्त्रणमा रहेको छन्। इलाका प्रहरी कार्यालय रास्कोटका इन्चार्ज मल्लका अनुसार वडा सदस्य शाहीले बञ्चरो प्रहार गर्दा नगरपालिकाको ढोकाको पाँच वटा ठाँउमा प्वाल परेको छ।

रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले वडा सदस्य शाही मदिरा सेवन गरी पूर्वाग्रही रुपमा नगरपालिका तोडफोड गर्न आएको बताए। उनले वडा सदस्य शाहीलाई सार्वजानिक मुद्धा हालिने बताए। उनका अनुसार नगरपालिका वडा नं. ४ मा शिम्भुनाथको मन्दिरको प्रांगणमा दुई कोठे धर्मशाला निर्माणको योजना थियो। उनले भने, ‘नगरपालिकाले पाँच लाख बजेट दिने निर्णय पनि भएको हो। तर उक्त योजनाको उपभोक्ता समिति पनि बनेको छैन। काम पनि भएको छैन। कसरी बजेट भुक्तानी दिनु?’ उनले धर्मशाला निर्माणको लागि उपभोक्ता समिति गठन भएर काम सम्पन्न भएपछि बजेट भुक्तानी हुने जानकारी दिए। – बिस्नप्रसाद न्याैपाने, अन्नपूर्णबाट

प्रतिक्रिया