बेहुलीझैं सिँगारियो सहर

- November 14, 2020 मा प्रकाशित

काठमाडौं : हिन्दू संस्कृतिअनुसार देशभर हर्षोल्लासका साथ उज्यालोको पर्व तिहार मनाइँदैछ। तिहार अर्थात् लक्ष्मीपूजा। यसमा झिलिमिली बत्ती, सयपत्री पुष्प, भाइमसलालगायतको उत्तिकै महत्व हुन्छ। यस्ता वस्तुबिना तिहार खल्लो मानिन्छ। कोभिड—१९ को महामारीबीच पनि तिहार मनाउन सम्पूर्ण नेपालीतयारी अवस्थामा छन्। 

ग्रामीण भेग जहाँ बत्ती पुगेको छैन, त्यहाँ आजपनि मट्टीतेल, तोरीको तेल, डिजेलको प्रयोग गरी स–सानो टुकी, पाला र दियो बनाएर उज्यालो बनाउने चलन छ। त्यस्तै मैनबत्तीबालेर पनि घरआँगन उज्यालो बनाइन्छ। बत्ती पुगेको सहर बजारमा भने विभिन्न प्रकारको विद्युतीय बत्तीकै महत्व हुन्छ। प्रत्येक घर, कार्यालय, महल, पसल, बगैंचा, होटेल, रेस्टुराँलगायतमा झिलिमिली बत्तीले उज्यालो बनाएर अध्यारो रातलाई रंगीचंगी बनाएको हुन्छ।

कोभिड—१९ को कारणले बजार थोरबहुत साँघुरिए पनि बजारमा यो वर्ष तिहारका लागि करिब ४२ करोडको झिलिमिली बत्तीको आयात गरिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो वर्ष गुलजारमय बनेको झिलिमिली बत्तीको व्यापार यो वर्ष भने केही सुनसान देखिएको छ। सडक किनारमै ठूलो व्यापार हुने झिलिमिली बत्तीको यो वर्ष निकै कम देखापरेको छ। कारण हो, कोभिडको संक्रमण।

कोभिडका कारण यो वर्ष झिलिमिली बत्तीको आयात करिब ४० प्रतिशत घटेको महासंघका उपाध्यक्ष रमेश देवकोटाले जानकारी दिए। देवकोटाकाअनुसार गत वर्ष तिहारताका करिब ७० करोड रुपैयाँको झिलिमिली बत्ती आयात भएको थियो। अघिल्लो वर्ष करिब एक अर्बको झिलिमिली बत्ती आयात भएको थियो ।
‘गत वर्षको तुलनामा यो वर्ष आयात कम छ, व्यापार पनि कम भएको छ,’ देवकोटाले भने। उनकाअनुसार लोडसेडिङको अवस्था पूर्ण रूपमा हटेपछि झिलिमिली बत्तीको व्यापार बढेको छ।

तिहारमा बालिने यस्ता झिलिमिली बत्ती छिमेकी मुलुक भारत र चीनबाट आयात हुन्छ। यसमध्ये पनि चीनबाट करिब ७० प्रतिशत र भारतबाट ३० प्रतिशत हाराहारी आयात हुन्छ।
यो वर्ष बजारमा न्यूनतम १ सय ५० देखि २५ हजार रुपैयाँसम्मको झिलिमिली बत्ती उपलब्ध छन्। यसबाहेक देवी देउताको फोटोमा जडित झिलिमिली बत्तीको व्यापार पनि यो बेला अत्यधिक हुन्छ। उपभोक्ताले बत्तीको आकार प्रकार, उज्यालोको अवस्था र टिकाउपनको आधारमा रोजेर खरिद गर्न सक्ने देवकोटाको भनाइ छ।

महासंघकाअनुसार नेपालमा करिब चार हजार व्यवसायीले विद्युतीय झिलिमिली बत्तीको व्यापार गर्छन्। राजधानीमा भने कोटेश्वर, बानेश्वर, महाबौद्ध, असन, न्युरोडलगायत स्थानमा यसको अत्यधिक व्यापार छ।
अन्य समयभन्दा तिहारमा एलईडी बत्ती र झिलिमिलीको व्यापार झन्डै ८० प्रतिशतले वृद्धि हुने महासंघले जनाएको छ।

१० करोडको माला
यो वर्ष तिहारमा करिब १५ लाखस्वदेशी सयपत्री पुष्पको मालाको व्यापार हुने अनुमान छ। यो वर्ष स्वदेशी फूलले नै बजार धान्ने भएकाले आयात गर्नु नपर्ने मै उत्पादन भएको सयपत्री पुष्पले धान्ने भएकाले पनि तिहारमा आयात गर्नु नपर्ने पुष्प व्यवसायीले बताएका छन्।

लामो समयदेखि बजार नपाएको सयपत्री पुष्पले तिहारको समयमा बजार पाउने विश्वासका साथ पुष्प व्यवसायीले भारतबाट आयात नगरेको जानकारी दिए। ‘हाम्रो आफ्नै उत्पादन अत्यधिक भएर बजारीकरणको अभावमा खेर गइरहेको छ,’ नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजू श्रेष्ठले भने,‘स्वदेशी उत्पादन मागअनुसार भएकाले यो वर्ष भारतबाट सयपत्री पुष्पको माला आयात भएन।’ तिहारमा यो वर्ष करिब १० करोड मूल्यबराबरको सयपत्री पुष्प मालाको व्यापार हुने श्रेष्ठले बताए।

उनकाअनुसार प्रतिमालाको उपभोक्ता मूल्य ६० देखि ७० रुपैयाँ तोकिएको छ। व्यापारीले भने किसानबाट प्रतिमाला पुष्पको आकारप्रकार हेरेर ४० देखि ४५ रुपैयाँमा खरिद गर्दैआएका छन्। अघिल्लो वर्ष तिहारको समयमा करिब २५ लाख मालाको बिक्री भएको थियो।

एक अर्बको भाइमसला
यो वर्ष तिहार र भाइटीकाका लागि भनेर करिब एक अर्ब रुपैयाँबराबरको भाइमसलाको व्यापार हुने अनुमान छ। कोभिड— १९ को संक्रमण भएपनि भाइटीकाको महत्व ठूलो भएकाले भाइमसलाको अत्यधिक बिक्री हुन्छ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठकाअनुसार अघिल्लो वर्षको तुलनामा भने यो वर्ष करिब ४० प्रतिशतले भाइमसलाको कारोबारमा कमी आउने सम्भावना छ। ‘कोभिडका कारण व्यापारमा कमी आउने सम्भावना छ’, संघका अध्यक्ष श्रेष्ठले भने,‘अघिल्लो वर्षको तुलनामा व्यापार नभएपनि यो वर्ष एक अर्बजतिको हुन सक्छ।’

तिहार र भाइटीकाको समयमा किसमिस, काजु, बदाम, ओखर, पेस्ता, नरिबल, छोकडा, सुकुमेललगायतको अत्यधिक बिक्री हुन्छ। यस्ता ड्राइफ्रुट र मसला भारतबाट आयात हुन्छ। नरिबल, अलैंची, मखना, हाँडे ओखरलगायत केही वस्तु नेपालमा पनि उत्पादन हुन्छ। बजार मूल्य पनि अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम रहेको श्रेष्ठले जानकारी दिए।
उपत्यकाको कालीमाटी, मैतीदेवी, पाटन, लगनखेल, असन, इन्द्रचोक, न्युरोडलगायत स्थानमा यस्ता भाइमसला खरिद गर्नेको ठूलो भीड नै लाग्न थालेको व्यापारीले  बताए।

संघकाअनुसार यो वर्ष प्रतिकिलो काजुलाई १ हजार ४ सयदेखि १ हजार ५ सय, किसमिसलाई ३ सय २० देखि ३ सय ५०, पेस्तालाई १ हजार ६ सय ५० देखि १ हजार ८ सय, नरिबललाई ३ सय ५० देखि ४ सय ५० र छोकडालाई २ सयदेखि २ सय ५० रुपैयाँमूल्य तोकिएको छ।

यस्तै बदामलाई १ हजार ५० देखि १ हजार २ सय, ल्वाङलाई १ हजार १ सय, सुपारीलाई ६ सय २०, ओखरलाई ६ सयदेखि ६ सय ५०, अञ्जिरलाई १ हजार  २ सय, दालचिनीलाई ३ सय ५० देखि ४ सय ५० सम्म, मिश्रीलाई १ सय २० देखि २ सय, खुर्पानीलाई ९ सय ५०, अलैंचीलाई १ हजार ३ सयदेखि १ हजार ३ सय ५०, सुकुमेललाई ४ हजार ५ सयदेखि ५ हजार र मखनालाई ८ सयदेखि एक हजार रुपैयाँसम्म मूल्य तोकिएको छ। अन्नपूर्णबाट

प्रतिक्रिया