सांसदले नै ठेक्का लिएकाे सडक अलपत्र : कालो सूचीमा राख्ने चेतावनी

- November 8, 2020 मा प्रकाशित

जुम्ला । नाग्म–गमगढी सडक खण्डमा स्तरोन्नतिको काममा ढिलाइ हुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । ठेकेदारको लापर्बाहीले पानी परे हिलाम्मे र घाम लागे धुलाम्मे हुने यो सडक खण्डमा यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ । सांसदले नै ठेक्का लिएको नाग्म–गमगढी राजमार्ग निर्माण अहिले अलपत्र अवस्थामा छ । राजमार्गको ९३ किलोमिटरमध्ये सुरुवातकै १३ किलोमिटरमा प्रतिनिधिसभा सांसद बहादुरसिंह लामाकै निर्माण फर्मबाट काम थालिएको थियो । तर, ठेक्का सम्झौता अवधिमा काम नँहुदा सडक निर्माण अलपत्र परेको हो । सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एन्ड थोकर र हिरा एन्ड नमिता जेभीले पाँच वर्षअघि नै सो सडक निर्माण ठेक्का लिएको थियो ।

नुवाकोटका लामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक कोटाका सांसद हुन् । निर्माणमा ढिलाइ हुँदा रारा जाने पर्यटक लगाइत सिँजा र मुगुका नागरिकले दुःख पाएका छन् । सडक डिभिजन जुम्लाका अनुसार सांसद लामाको फर्मले १३ किलोमिटर सडकमा सडक चौडा ,ग्राभेल, कल्भट, ग्याविन, मेसिनरी टेवा र पर्खालको काम गर्नेगरी ठेक्का लिएको थियो तर, अहिलेसम्म ६ किलोमिटर सडक अलपत्र अवस्थामै छ । सडक कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले तिहार अगावै काम नथाले सांसद लामाको फर्मलाई कालो सूचीमा राख्ने चेतावनी दिइएको बताए । ‘अब ठेकेदारबाट काम हुन्छ नभए हामी एक्सनमा उत्रन्छौं ’ उनले भने ।

पाँच वर्ष अघिदेखि नै काम थालेजस्तो गरे पनि सडक तयार नभएपछि राजमार्ग वरपरका स्थानीयसहित जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतसहितको टोलीले सिञ्जा राजमार्गमा काम ढिलाइ हुनुको कारण र चुनौतिबारे डिभिजनमा सड्क पुगेर जानकारी लिएका थिए । डिभिजनमा सडक कार्यालयले सांसदले नै ठेक्का लिएकाले काम गराउन कठिन भएको जवाफ दिएको थियो । चौतर्फी दबाब आएपछि कार्यालयले कालोसूचीमै राख्ने चेतावनी दिएको छ । यो सडक बनाउने गरी ठेक्का नम्बर १२ अन्तर्गत पर्ने सो खण्डको २०७२ माघ ८ गते ठेक्का सम्झौता भएको थियो । निर्माण अवधि २०७५ पुष ७ गतेसम्मका लागि तोकिएको थियो । दोस्रोपटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गतेसम्म अवधि निर्माण अवधि थपिए पनि काम हुन सकेको छैन । लामाको फर्मले सम्झौता रकम १० करोड १३ लाख आठ हजार १३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार २७६ रुपैयाँ २६ पैसा भुक्तानी लिइसकेको डिभिजन सडक कार्यालयले जनाएको छ । – मानबहादुर कुँवर, राजधानीबाट

प्रतिक्रिया