दसैंमा राष्ट्रपति शक्तिपीठमा नजाने : सर्वसाधारणलाई टीका लाउने कार्यक्रम स्थगित

- October 23, 2020 मा प्रकाशित

 काठमाडौं : वडादसैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा जाने कार्यक्रम स्थगित गरिएको छ। त्यसैगरी राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दसैंको टीका लगाइदिने कार्यक्रमसमेत नहुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

शुक्रबार सूचना सार्वजनिक गर्दै राष्ट्रपति कार्यालयले  कोरोना संक्रमणको समय भएकाले शक्तिपीठमा पूजापाठ गर्ने र सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नहुने जानकारी गराएको हो।

अघिल्ला वर्षमा दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमामा  राष्ट्रपति भण्डारी शक्तिपीठमा गएर दर्शनसँगै पूजापाठ गर्दै आएकी थिइन्। दसैंको टीका अवधिमा राष्ट्रपतिबाट सर्वसाधारणले टीकासमेत ग्रहण गर्ने कार्यक्रम यसपटक नराखिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले  सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्‍न शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने साथै सम्माननीयज्यूले विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्नुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त सबै कार्यक्रमहरू नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ’, प्रवक्ता घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ। अन्नपूर्णबाट

 

प्रतिक्रिया