अहंकारी, अन्यायी माथि लगाम कस्न सवार बन्न सक्ने चाडवाडकाे यस्ताे छ महत्त्व

- October 17, 2020 मा प्रकाशित

चाडबाड

जयन्ती मंगलाकारी संस्कार मानवधर्म साथै पर्यावरणमूलक चाड पर्व हो। मानवधर्ममूलक चाडपर्व अशुभ, अहंकारी, अन्यायी, अविवेकी र असहिष्णु प्रवृत्ति माथि लगाम कस्न सवार बन्न सक्ने मनोबल अनि विवेकबल प्रस्फुटन गर्न साधना गरिने धर्म संस्कार हो। धर्म संस्कार प्रतीकात्मक रहन्छ। यसमा अनेक प्रतीक र बिम्बको प्रयोग भइरहेका हुन्छन्। सांस्कृतिक आनन्द प्रतीक र बिम्बहरूका अर्थबोधक भाव महिमा गायनबाट उपलब्ध हुन आउँछ।

संस्कृति र मानिस, मानिस र संस्कृति एकअर्काका परिपोषक अनि परिपूरक भावदर्शन, क्रिया–कर्म, तथा जीवन–समाज सञ्चालन विधिका मुटु र चेत हुन्। मानिस जस्तो हुन्छ, संस्कृति उस्तै बन्छ। मानिसभन्दा अलग संस्कृति बन्न सक्दैन। संस्कृतिभन्दा अलग मानिस रहन सक्दैन। सांस्कृतिक सन्दर्भमा यसोउसो यताउति व्यापकतासम्म विचरण गर्दा मानिस–राष्ट्र अथवा राष्ट्रिय–समाजको पर्याय बन्छ। राष्ट्रिय–समाज भन्नेबित्तिकै आमनेपाली; विशेषतः हिन्दू–नेपाली चरितार्थ हुन्छ; हिन्दू धर्म आस्था बनेको विजयादशमी पर्वको सन्दर्भमा। त्यसैले संस्कृति समाजको स्वरूप हो अत्यन्त यथार्थतामा। तथापि नेपालको राजधानी उपत्यकाको बौद्ध समाजले दसैं संस्कृतिलाई आफ्नै तवरले मान्छन् पनि।
समाजको स्वरूप निर्धारण गर्न संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छ। संस्कृति जति जल्दोबल्दो अर्थात् उज्ज्वल हुन्छ; उति नै समाज जल्दो बल्दो रहन्छ। संस्कृति उज्यालो भए समाज उज्यालो रहन्छ। संस्कृति निभे समाज पनि निभ्छ। भन्नुस्, संस्कृतिका स्रष्टा मानिस हुन्। मानिस तपार्इं, मको संयुक्ताकार हामी। हामीले संस्कृतिलाई चिने, जाने, बुझे संस्कृतिले हाम्रो मर्यादा राख्न सक्ने हुन्छ। संस्कृतिले हाम्रो मर्यादा राख्न सक्ने भए मात्र हामी नेपाल–राष्ट्र भएर संसारसामु ठाडो मुन्टो राख्न सक्ने हुन्छौं।

मानिस दैवी र आसुरी प्रवृत्तिबीचको सन्तुलन हो। दैवभित्र अत्यन्त उदात्त र उच्च प्रवृत्तिहरू समाहित रहन्छन्। यो उदात्तता यति अकासिएको हुन्छ कि बखान गरेर साध्यै हुन्न। महादेवको उदात्तताका कारण भस्मासुरले छोयो कि भस्म हुने वर प्राप्त गर्छ। फलस्वरूप आफ्नै वरदानबाट जोगिन महादेव स्वयम् भस्मासुरदेखि भागी भागी बाँच्नुपर्ने अवस्था पर्छ। अन्तमा विष्णुले भस्मासुरलाई भन्नै पर्ने अवस्था आउँछ कि महादेवले तिमीलाई छलपूर्वक नक्कली शक्तिको वरदान दिएर हिँडे। विश्वास गर मलाई; नपत्याए परीक्षा गर यो कुरो सद्दे हुन् कि होइनन् भनेर। एकफेरा आपूmलाई आफैंले छोई त हेर। नभन्दै भस्मासुरले आफूलाई छोई हेर्दा आफैं भस्म हुन पुगे।

यसले महादेवको उदात्त भोलेपन र विष्णुको कूटनीतिक चालबाजीपूर्ण विवेकीपनको महात्म्य चरितार्थ हुन आउँछ। महादेवको भोलेपन र अति उदात्त स्वभावलाई लम्पट पारी भवानी मंगलादेवीले उनमाथि बस गर्नु पर्ने भएथ्यो। सरल, स्पष्ट र निर्विकार स्वभाव–संस्कारलाई दैवी गुण मानिसमा हुन्छन्। कपटी, अमूर्त र विकारयुक्त स्वभावलाई दानवी स्वभाव मानिन्छ। मानिस बन्न राम्रा–नराम्रा दुवै तत्वबीचको सन्तुलनविहीन समाजमा मनुष्यत्व बाँच्नै सक्दैन। मनुष्यत्व नभएको समाजमा आसुरीपनको बिगबिगी रहन्छ। यस्ता बिगबिगी नासयोग्य हुन्छ र युगयुगमा यो नष्ट भइरहन्छ, रहेकै छ।

भवानी मंगलादेवी विवेक बलकी प्रतीक कामिनी हुन्। जसले आसुरी प्रवृत्तिमाथि बस गर्ने क्षमता राख्छ तिनको साथमा आत्मबल रहन्छ। जोसित आत्मबल छ, ऊसित विवेकबल पनि रहन्छ। आत्मबल र विवेकबलको बलियो बन्धन हुन्छ। विवेकले मात्र सुरा शक्ति जन्माउँछ। सुरा शक्ति भन्नु सबको मंगलकारी आत्मबल हुन आउँछ। सुरा शक्ति भन्नु असल काममा प्रवृत्त रहन सक्ने बलवान् बुद्धियोग मानिन्छ। सुरा शक्तिले बलात्कार गर्दैन। बौद्धिक चमत्कारले आसुरी स्वभावमाथि नियन्त्रण गर्छ। आसुरी प्रवृत्तिबलात्कारी हुन्छ; स्वेच्छाचारी हुन्छ; दम्भ र अहंकारी रहन्छ। बलात्कारी प्रवृत्तिले बल प्रयोग गर्न लगाउँछ; विवेकको होइन। विवेकविहीनक्रिया पशुजन्य हुन्छ। पशुजन्य स्वभाव र मनस्थिति लिएको आसुरीपनलाई विजयादशमीको पर्वले महिसासुर वधलाई यस पर्वको प्रमुख क्रिया–कर्म बनाएको छ।

यस प्रकार आसुरी प्रवृत्तिमाथि दमन र विजय पाउन हिन्दू नेपालीले बर्सेनि विजयादशमी महोत्सव मनाउने संस्कारलाई आत्मसात गरेको छ; अँगालेको छ। यसकारण, संस्कार जीवन पद्धति बन्छ। जहाँ संस्कार छ; त्यहाँ जीवन छ। जहाँ संस्कार छैन त्यहाँ जीवन पनि बाँच्दैन; समाज पनि बाँच्दैन। जीवन–समाजलाई जिताउन नेपालीले सतहगामी धर्म संस्कार पालन गरेर पुग्दैन। धर्म–संस्कारलाई जिउँदो जीवन समाजकै जयन्ती वा आचरणको रूपमा पालन गर्नु आवश्यक छ। जयन्ती मंगलाकारी चाड–पर्व–संस्कार समाजलाई असलतिर उन्मुख गराउने एक प्रकारको कल्याणमुखी धार्मिक पर्व बनेकाले लोककल्याणकारी शासनलाई टीको लगाउनु पर्दो हो। टीको मूर्तमा पनि अमूर्त बिम्बबोधक सांस्कृतिक प्रतीक बन्छ यहाँ।

धर्मलाई विवेकशील स्वभाव, प्रवृत्ति र व्यवहारसित गाँस्नुपर्ने हुन आउँछ। विवेक बललाई प्रस्तुत गर्ने बिम्ब भगवती मंगलादेवीको गुण स्वभाव बन्छ। यस गुणस्वभावको आर्जन भवानी मंगलामा अन्तरनिहित रहेको प्रज्ञापन उनकै नवशक्ति र १८वटा बाहुले बताउँछ। नवदुर्गा नवरसका प्रतीक हुन्। नवरस नव्य जीवनको सार्थक चाहना बन्छ। जहाँ नवरस छ; त्यहाँ नवदुर्गा छन्। नवदुर्गा नवरसका प्रतीक हुन्। नवदुर्गा नव नक्षत्रका अधिस्थात्री हुन् नवरथा, नवरस, र नवदुर्गा नव्य चेतना, नव्य प्रवृत्ति, नव्य दिशाबोध, नव्य कामना, नव्य गतिशीलता, नव्य अर्थ बोध, निश्चल व्यवहार, निष्कपट मनोबल र नव्य जीवनका लागि आराध्य छ, अनुशीलन योग्य छ– जयन्ती मंगलाकारी भद्रकाली कपालिनी संस्कार !

सुन्दर शारदीय गुण स्वभावलाई वरन गर्दै मानिस मात्रलाई जिउताउन जयन्ती गर्नै पर्छ– मंगलाकारी समाजकी अधिस्थात्री दुर्गा भवानीलाई। विवेकशील चेतनाकी महालक्ष्मी विवेचनाशील ज्ञानकी सरस्वती, नदी झैं प्रवाहमान कर्मठताकी सीपवती वैष्णवी, सिर्जनाका प्रत्युत्पन्न मतिधारी ब्रम्हायणी, सुरुचिकर लावण्यकी खानी कुमारी, सुशीलताकी प्रतिमूर्ति महेश्वरी, दुराचार माथि प्रहार गर्ने शक्तिशाली रुद्रायणी, हठवाद र बीभत्सतालाई नंग्याउने प्रवृत्तिशाली महाकाली– यी अष्ठ सिद्धि र शक्तिका एकीकरण नवदुर्गा भवानी–भगवती–महामाया जे भनौं उही हुन्; उनै हुन्। जयन्ती मंगलाकारीसंस्कार यिनै तत्वबोधक संस्कृति हुन्। जयन्ती मंगलाकारी संस्कारले हामी सबैलाई सुसंस्कृत बनाउन्।

  1. जयन्ती मंगलाकारी धर्म–संस्कृतिलाई पुर्खाले हाम्रा समाजमा आमिश–निरामिश दुवै पक्षलाई सन्तुलनमा राखी चलायमान राखेको छ। नवमीका बिहानै कोतपूजा गर्दा नेपाली राष्ट्रिय सेनाले कोतपूजाको अवसरमा आमिश बलिपूजामा पशु– राँगा, बोका, भेडा, हाँस र कुखुरा आदि बलिबेदीमा अर्पण प्रथा चलायमान राख्नुका साथै निरामिश बलिपूजा पनि चढाउने गर्छन्। निरामिश बलि पूजामा कुपिण्डो, मूला, काँक्रो आदि बलिबेदीमा चढाउने गरिन्छ। पराई–दुश्मन आइलाग्दा जाइलाग्ने अडम्य साहस र सामान्य अवस्थामा निरामिश फलफूल र शाकाहारबीच समयोचित सन्तुलन कायम राख्न सकौं भन्ने बिम्बबोधक कामनाका प्रतीक बने, बनाइएका छन्। यसले राष्ट्रलाई सदा सन्तुलनमा राखी एकै पक्षधर नबनाउनुपर्ने मौन संकेत दिने बुझेको छु।
    आसुरी प्रवृत्तिमाथि दमन र विजय पाउन हिन्दू नेपालीले बर्सेनि विजयादशमी महोत्सव मनाउने संस्कारलाई आत्मसात् गरेको छ; अँगालेको छ। यसकारण, संस्कार जीवन पद्धति बन्छ। जहाँ संस्कार छ; त्यहाँ जीवन छ। जहाँ संस्कार छैन त्यहाँ जीवन पनि बाँच्दैन; समाज पनि बाँच्दैन। जीवन–समाजलाई जिउताउन नेपालीले सतहगामी धर्म संस्कार पालन गरेर पुग्दैन। साभार

प्रतिक्रिया