जलविद्युत, पर्यटन होटल र सिमेन्ट उद्योगमा पूर्वाधार निर्माण क्रम बढेको उल्लेख गर्दै उनले पब्लिक प्राइभेट पार्टनरसिपमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताए ।
कार्यपत्र प्रस्तुत गर्दै सतीश त्रिपाठीले आर्थिक विकास सुस्त भएको बताए । ६ प्रतिशतदेखि ८ प्रतिशतसम्मको कुल ग्राहस्थ उत्पादन वृद्धिले आर्थिक विकासमा जाँदा पनि विकास सुस्त भएको उनको भनाइ छ । अरु देशले सुरु गरेको पूर्वाधारको तुलनामा नेपाल निकै पछि रहेको उनको भनाइ छ । सडकको ट्रयाक खोल्ने काममै छौं हामी,’ उनले भने, हामी डेपलपमेन्टमा छैनौं ।’ योजनाबद्ध ढंगले अघि बढ्न नसक्दा पूर्वाधार विकास हुन नसकेको उनले बताए । ‘५ वर्षमै पूर्वाधार बिग्रनेखालको बनाउन हुँदैन । पूर्वाधारका लागि लगानी गर्दैछौं । १९७० को मोडेलमा रहने होइन । दीर्घकालीन योजना बोकेर जानुपर्छ । थोरै काममा काम गर्दा पूर्वाधार निर्माण भएन, अब त स्थानीय तहले योजना बनाएर काम गर्न सक्छन्,’ उनले भने ।
सिभिल इन्जिनियर केशवराज ज्ञवालीले भवन बनाउँदा पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक भएको बताए । ‘विकसित सहर बनाउन पहिला नै योजना बनाउनुपर्छ,’उनले भने । नेपालको सहरी क्षेत्र पूर्णरुपमा व्यवस्थित हुन नसकेको भन्दै अब निर्माण गर्दा व्यवस्थित गर्न सकिने उनले बताए ।
कार्यपत्र प्रस्तुत गर्दै रतन झाले पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए । विदेशी लगानी आउन नसक्नुको कारण खोज्नुपर्ने उनको भनाइ छ । आर्जन गरेको सीप र ज्ञान ट्रान्सफर गर्न मेकानिजम बनाउन आवश्यकता देखिएको उनले बताए ।
इन्जिनियर दिपकबाबु कँडेलले गैरआवासीय संघले बस्ती सार्न खोज्दा नसकिएको बताए । ‘जसरी हुन्छ, आर्थिक विकास गर्नैपर्छ,’ उनले भने, ‘त्यसका लागि विदेशी लगानी बढाउनै पर्छ ।’
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड-१९ ले उत्पन्न गरेको विषम परिस्थितिमा पनि गैरआवासीय नेपालीले महत्वपूर्ण काम गरेको बताए । भौतिक रुपमा टाढा रहे पनि समृद्ध नेपाल, सुखी नेपालीको नारालाई यथार्थमा परिणत गर्न विश्वकै जुनसुकै देशमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण हुने उनले बताए ।
सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गरी विकासशील बनाउन पूर्वाधारले महत्वपूर्ण योगदान दिने मन्त्री नेम्वाङले बताए । स्थायी सरकार बनेसँगै देश निर्माणको क्रममा अघि बढेको उनको भनाइ थियो । नीतिगत रुपमा सहज गर्दै विदेशी लगानी आकर्षित गर्दै पूर्वाधार निर्माणमा अघि बढेको उनको भनाइ छ । रेल, बाटो, सुरुङमार्ग निर्माणमा देश अघि बढेको मन्त्री नेम्वाङले बताए ।
त्यस्तै गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले सरकार र निर्माण व्यवसायीबीच सुमधुर सम्बन्ध हुन नसकेको बताए । देशको विकासका लागि दुवै पक्ष एक भएर जानुपर्ने आवश्यकता रहेको उनले बताए । ‘गुणस्तरीय निर्माण गर्न हामी चुकेका छौं,’उनले भने । प्रविधि प्रयोग र नेपालमा प्रविधि हस्तान्तरण गर्न सरकारले ध्यान दिन जरुरी रहेको उनले बताए । कान्तिपुरबाट
प्रतिक्रिया