जनकपुर-जयनगर रेल सञ्चालन अझै अन्यौलमा

- September 30, 2020 मा प्रकाशित

जनकपुरधाम । भारतबाट रेल खरिद गरी ल्याए पनि जनकपुरधाम जयनगर रेल सञ्चालन अझै अन्यौल बनेको छ । पहिलो चरणमा जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन गर्न पूर्ण रुपमा लिक तथा भौतिक संरचना तयारी अवस्थामा छ । भारतबाट किनेको २ सेट रेल असोज २ गते जनकपुरधाममा घुमाएर धनुषाको इनरर्वामा पार्किंगमा राखिएको छ । तर अहिले पनि सो रेल नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छैन । हस्तान्तरण प्रकृया समेत अन्यौलमा रहेको पाइन्छ । सुरुमा सीमावर्ती क्षेत्र जयनगर स्टेशनमा राखिने भनिएपनि अहिले धनुषाको इनर्वा स्टेशनमा रेल राखिएको छ ।

इनर्वा स्टेशनमा पाँचवटा लिक रहेकोले दुई सेट रेललाई छुट्टाछुट्टै लिकमा राखिएको छ । पहेँलो रङको त्रिपाल ओढाएर राखिएको रेललाई सुरक्षा गर्न इनर्वा स्टेशनमा सशस्त्र प्रहरीलाई खटाइएको छ । रेललाई अहिले ५० जना सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन्। रेलको रङरोगन बिग्रन नदिन त्रिपालले छोपिएको नेपाल रेल कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

रेलको एउटा पूरा यार्ड नै सशस्त्र प्रहरीलाई उपलब्ध गराएर सुरक्षाको जिम्मेवारी दिइएको उनले बताए । साइट इन्जिनियर विनोद ओझाले भारतीय प्राविधिकहरुलाई चेकजाँच गर्न सहज हुने भएकोले इनर्वा उपयुक्त देखिएको बताए । जनशक्ति अभावले रेल सञ्चालन कहिलेदेखि हुने भन्ने टुंगो अझै छैन रेलका अधिकारीहरु बताउँछन् । ३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सातवटा स्टेशन छन् । त्यसका लागि कम्तीमा २०० जना कर्मचारी चाहिन्छ । हाललाई १२९ जना कर्मचारी माग गर्दै रेल्वे कम्पनी लिमिटेडले विज्ञापन गरेको छ । उक्त विज्ञापन अन्तर्गत आवेदन दिने अवधि असोज १२ गतेसम्मका लागि छ ।

जनशक्ति अभावका कारण रेल सञ्चालनमा ढिलाइ भएको रेल्वे कम्पनीले जनाएको छ । भारतले निर्माण गरेको लिक तथा पूर्वाधार हालसम्म पनि औपचारिक रुपमा हस्तान्तरण नगरेका कारण सञ्चालनमा अन्योलता बढेको ती अधिकारीले बताए । हस्तान्तरण गर्ने भन्नेबारे हालसम्म टुङ्गो नलागेको जनकपुर रेल विभागका इन्जिनियर ओझाले बताए । रेल कम्पनीका महाप्रबन्धक भट्टराईले दुई/तीन महिनाभित्र रेल सन्चालन गर्नेगरी काम थालिएको बताए ।

‘कर्मचारी भर्ना प्रक्रिया सुरु भइसकेको छ, भारतबाट बनेर आएको रेलको परीक्षण पनि भइसकेको छ,’ उनले भने, ‘कर्मचारी भर्ना प्रक्रिया सकिएलगत्तै रेल सञ्चालनमा आउँछ । महत्वपूर्ण कामजति करिब करिब सकिइसकेको छ ।’ रेल्वे कम्पनीले आवश्यक जनशक्तिका लागि विज्ञापन गरे पनि भारतबाट ल्याउने प्राविधिक कर्मचारीका बारेमा पनि अझै कुनै टुङ्गो लागेको छैन । रेल चलाउनका लागि भारतबाट कम्तीमा पनि २६ जना दक्ष जनशक्ति ल्याउनुपर्ने हुन्छ । त्यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएपनि रेल्वे कम्पनीबाट प्रकृया अझै शुरु नभएको स्रोतले जनाएको छ ।

यता, भारतीय पक्षले नेपाललाई रेल्वेको संरचना हस्तान्तरण गर्न तयार रहे पनि नेपाल नै हालसम्म तयार नभएको आरोप लगाइरहेको छ । ‘भारत रेल्वेको पूर्वाधार तयार भएदेखि नै हस्तान्तरणका लागि तयारी अवस्थामा बसेको थियो तर नेपालको तयारी नपुगेको कारण हालसम्म हस्तान्तरण भएको छैन । नेपाल तयार हुने बित्तिकै हामी हस्तान्तरण गर्छौँ ।’ नेपालस्थित भारतीय दूतावासका एक पदाधिकारीले भने ।

दोस्रो चराणमा सञ्चालन गरिने भनिएको जनकपुरधामको कुर्थादेखि भंगहासम्म १७ किलोमिटर रेलको लिक तथा भौतिक संरचना निर्माण पनि अन्तिम चरणमा पुगेको छ । ‘भारतसंगको सम्झौता अनुसार रेल निर्मामा भएको खर्चको मोबिलाइजेसनको २० प्रतिशत रकम नेपाल सरकारले बुझाइसकेको छ,’ रेल्बेका महानिर्देशक बलराम मिश्रले भने, ‘बाँकी ८० प्रतिशत रकम रेल जनकपुरधाम आएर परीक्षण भए पछि मात्र भुक्तानी गरिने छ ।’

डिब्बामा एक पटकमा करिब १३ सय यात्रु अटाउने छन । दिनमा तिनपटकसम्म ओहोर दोहर गर्ने रेल्बेको तैयारी रहेको छ । पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था (३५ किमि) को रेल सेवा सञ्चालन गर्ने तयारी दुवै देशका प्राविधिकले गरेका छन । दोस्रो चरणमा कुर्था–भंगहा (१७ किमि) तथा तेस्रो चरणमा भंगहा–बर्दिबास (१७ किमि) गरी कुल ६९ किलोमिटर लामो रेल विस्तार आगामी ३ वर्षभित्र पूरा हुने नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले बताए । भारत सरकारको रु १० अर्ब सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो । निर्माण भएको रेलमार्ग ब्रोडगेज हो । बि.स. १९८४ मा स्थापना भएको नेपालको एकमात्र रेलको आर्थिक अवस्था निकै जर्जर भएपछि भारत सरकारले सहयोगमा कार्य अगाडि वढाएको छ । – सुजीतकुमार झा, राजधानीबाट

प्रतिक्रिया