क्रिकेट संघको मनपरी : खेलाडीहरूमा निराशा

- September 24, 2020 मा प्रकाशित

काठमाडौं । चितवनमा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले ऐतिहासिक निर्णय ग-यो । अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पाइला टेकेको १३ वर्षपछि नेपाली महिला क्रिकेटरलाई क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा बाँध्यो । यसले भावी महिला क्रिकेटरलाई खेलमा लागिरहने प्रेरणा पक्कै मिल्नेछ ।

महिला क्रिकेटरलाई पहिलोपटक सेन्ट्रल कन्ट्रयाक्ट दिएको क्यानले पुरुष क्रिकेटरहरूको पारिश्रमिकमा १५ हजार वृद्धि गरेको थियो । जुन एक सकारात्मक कदम थियो । तर, क्यानले तयार पारेको सूचीमा अर्थात् क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा भने मनपरी देखिएको छ । महिला र पुरुष दुवैतर्फको ग्रेडिङमा क्यानले अत्यन्तै असंवेदनशील तरिकाले खेलाडीको वर्गीकरण गरिँदा खेलाडीहरूमा निराशा छाएको छ ।

क्यानको वर्गीकरण हेर्दा खेलाडीको प्रदर्शनलाई नुबुझी वर्गिकरण गरेको जस्तो देखिन्छ । २०२० का लागि क्यानले पारिश्रमिक निर्धारण र ग्रेड निर्धारणका लागि कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा दुर्गाराज पाठक र अमितवीर पाण्डेसहित तीन सदस्यीय समिति बनाएको थियो ।

क्यानले तीन ग्रेडमा खेलाडी वर्गीकरण गर्दै पुरुषतर्फ प्रत्येक ग्रेडमा पारिश्रमिकमा १५ हजारले वृद्धि गरेको छ । पुरुष खेलाडीको ए ग्रेडका खेलाडीले ५० हजार बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका खेलाडीले ३० हजार प्राप्त गर्नेछन् । यसै वर्षदेखि समावेश गरिएको महिलातर्फ ए ग्रेडमा रहेका खेलाडीले मासिक १५ बी ले १२ हजार र सी ग्रेडका खेलाडीले १० हजार प्राप्त गर्नेछन् । सम्झौता २०२० को सुरुवातबाटै लागू हुने भएको छ ।

सोमपाल ‘बी’मा, ललित अयोग्य
सन् २०१९ को प्रदर्शनलाई आधार मान्ने हो भने सोमपाल कामीको प्रदर्शन निकै उत्कृष्ट थियो । वर्षको उत्तराद्र्धमा ढाडको समस्याबाट दुईवटा प्रतियोगिता गुमाएका सोमपाल ‘ए’ श्रेणीमा रहनुपर्ने खेलाडी हुन् । तर, उनलाई ‘बी’मा झारिएको छ ।

नेपालले यूएईमा ऐतिहासिक एक दिवसीय शृंखला जित्दा सोमपालको प्रदर्शन उत्कृष्ट थियो । सोमपालको स्थानमा भेट्रान स्पिनर वसन्त रेग्मी फर्किएका छन् । खेल करियरको अन्त्यतिर रहेका वसन्तले २०१९ मा यूएईविरुद्धको शृंखलामा १–१ ट्वान्टी र एक दिवसीयपछि खेलेका छैनन् ।

२०१९ मा नेपालका लागि एक खेल पनि नखेलेका सुभाष खकुरेललाई ‘सी’ ग्रेडको कन्ट्रयाक्ट थमाइएको छ । सबैभन्दा अचम्म राष्ट्रिय टोलीका नियमित सदस्य ललितनारायण राजवंशीलाई कुनै पनि कन्ट्रयाक्टमा रहेका छैनन् । नेपालका लागि एक खेल पनि नखेलेका कमल सिंह ऐरी र एक टी–२० रशिद खानले ‘सी’ ग्रेड पाएको छ । २०१९ मै टी–२० मा अर्धशतक बनाउने कान्छा खेलाडी सन्दीप जोरा पनि कुनै ग्रेडमा अटाएनन् ।

महिलामा झनै मनपरि
महिला टोलीकी कप्तान रुविना क्षेत्री बेलवासेले महिलाले पनि पहिलोपटक सेन्ट्रल कन्ट्रयाक्ट पाउदा खुसी लागेको तर सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीको सूची हेर्दा अचम्म लागेको बताइन् । ‘खेलाडीहरूलाई जुन हिसाबले ग्रेडिङ गरिएको छ, त्यो चित्त बुझ्दो छैन,’ उनले भनिन् । ‘बी’ ग्रेडमा एक खेलाडी कविता जोशी रहेकी छन् ।

तर, उनले नेपालका लागि कुनै खेल खेलेकी छैनन् । केही समययता उत्कृष्ट प्रदर्शन गर्दै आएकी ममता चौधरीले कुनै कन्ट्रयाक्ट पाइनन् । ‘ए’ ग्रेडमा रहनुपर्ने सरिता मगर र काजोल श्रेष्ठलाई ‘बी’ ग्रेडको कन्ट्रयाक्ट थमाइएको छ । यी दुवै खेलाडी नेपालको पछिल्लो प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी हुन् ।

पुरुष टोलीको नयाँ ग्रेड
ग्रेड ‘ए’ – ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी
ग्रेड ‘बी’ – सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ
ग्रेड ‘सी’ – सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाश बोहोरा र कमलसिंह ऐरी

महिला ग्रेड
ग्रेड ‘ए’ – रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी
ग्रेड ‘बी’ – ज्योति पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर
ग्रेड ‘सी’ – कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले । राजधानीबाट

प्रतिक्रिया